विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै वडा अध्यक्ष नवीन सिग्देल ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको स्थापना दिवस विविध खेलकुद कार्यक्रम गरी मनाइएको छ । छात्रछात्राबीच खुला ३ किलोमिटर दौड, टगअफ वार (डोरी तान्ने), बास्केट बल र शिक्षक÷कर्मचारीबीच व्याडमिन्ट प्रतियोगिताको आयोजना गरी शुक्रबार क्याम्पसको ३३ औं स्थापना दिवस मनाएको हो ।

खुला ३ किलोमिटर दौडमा छात्रातर्फ रोशनी घलान प्रथम हुन सफल भएका छन् । यस्तै विविका गोले द्वितीय र प्रतिज्ञा पराजुली तृतीय हुन सफल भएका छन् । छात्रतर्फ शेख स्याङ्तान प्रथम, आयुष नेगी द्वितीय र विशेक बछार तृतीय हुन सफल भएका छन् । यसैगरी डोरी तान्नेमा छात्रातर्फ बिबिएस प्रथम वर्ष प्रथम र बीबीएस दोस्रो वर्ष द्वितीय हुन सफल भएका छन् । छात्रतर्फ कक्षा—११ (बकैया सदन) प्रथम र बीबीएस दोस्रो बर्ष द्वितीय हुन सफल भएका छन् ।

शिक्षक कर्मचारीबीच भएको व्याडमिन्टन प्रतियोगितामा दिपेन्द्र ढकाल र भुपेन्द्र कोइरालाको समुह विजेता बनेका छन् । यस्तै देवीराम लामा र प्रकाश दाहालको समुह उपविजेता बनेका छन् । बास्केट बल थ्रो इनमा छात्रातर्फ रोजिता गुरुङ प्रथम र प्रनिका क्षेत्री द्वितीय भएका छन् । छात्रतर्फ मानव मोक्तान प्रथम र विकी लामा द्वितीय हुन सफल भएका छन् ।

दौडमा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । डोरी तान्ने, बास्केट बल र व्याडमिन्ट प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः ३ हजार रुपैयाँ, २ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडलले पुरस्कृत गरिएको हेटौंडा क्याम्पसका उप–प्राध्यापक मनोज पोख्ररेलले जानकारी दिनुभयो ।

हेटौंडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्ष तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा स्थापना दिवस समारोह भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्य तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, सञ्चालक समितिका सदस्य प्रदीप कोइराला, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर लगायतको उपस्थिति थियो ।