हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयले निबन्ध प्रतियोगिता आयोजना गरेको छ । ९ कक्षाका विद्यार्थीबीच आयोजना गरिएको निबन्ध प्रतियोगितामा सुशील वाईबा प्रथम भएका छन् । “वातावरण स्वच्छतामा वन जंगलको महत्व” शीर्षकमा निबन्ध लेखन प्रतियोगितामा भएको हो ।
प्रतियोगितामा विकास लामा द्वितीय, गंगा लामा तृतीय र कृष्ण लामा सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री वितरण गरिएको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव सञ्जेलले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा ९ का ३७ जना विद्यार्थी सहभागी थिए । प्रतियोगिताका लागि आवश्यक पुरस्कार सामग्री र खाजाको सब–डिभिजन वन कार्यालय रातोमाटेले प्रायोजन गरेको प्रधानाध्यापक सञ्जेलले बताउनुभयो । कार्यक्रममा सब–डिभिजन वन कार्यालय रातोमाटेकी वनअधिकृत आश्मा सुवेदी र रेञ्जर देवेन्द्र सञ्जेलको उपस्थिति रहेको थियो ।
विद्यार्थीले एक घण्टाको अवधिमा लेखेको निबन्ध विद्यालय शिक्षक, सब–डिभिजन वन कार्यालयका प्रतिनिधि सम्मिलित निर्णायक समितिले एक घण्टाको अवधिमा परीक्षण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी छनोट गरिएको प्रधानाध्यापक सञ्जेलले जानकारी दिनुभएको छ । निबन्ध प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई आवश्यक तयारी गर्न ५ दिन अघि नै सूचित गरिएको थियो ।