हेटौंडाः रोटरी क्लब अफ हेटौँडाले महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत सिलाइ–कटाइको एडभान्स तालिमको थालनी गरेको छ । बुधबारबाट सुरु तालिममा २५ जना प्रशिक्षार्थी सहभागी छन् । क्लबले गतवर्ष जिल्लाका विभिन्न ४ स्थानमा एकसय जनालाई ३ महिने आधारभूत तालिम प्रदान गरेको थियो । उक्त तालिमबाट लाभान्वितहरुलाई दक्ष बनाई लेभल २ सरहको मान्यता पाउने गरी पाठ्यक्रम लागू गरिने कार्यक्रम संयोजक अर्जुन सुवेदीले बताउनु भयो ।
मनहरी–३ का अध्यक्ष अनन्त प्रकाश अर्याल र नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक रामप्रसाद सापकोटाले संयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभयो । क्लब अध्यक्ष सुयशराज पराजुलीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अर्यालले रोटरी क्लब अफ हेटौँडाको कामहरुको प्रशंसा गर्दै सहयोग र सहकार्यका लागि आफू सदैव तत्पर रहेको बताउनु भयो । कार्यक्रममा प्राविधिक संयोजक रामप्रसाद सापकोटाले व्यावसायिक सीपको योग्यता परीक्षण, प्रमाणीकरणका लागि भएका प्रावधानहरु बारे प्रकाश पार्दै सेवा प्रवाह र गुुणस्तरमा विशेष ध्यान दिन अनुरोध गर्नु भयो ।
स्थानीयस्तरमा काममा निपूर्ण व्यक्तिहरुले पनि सीप परीक्षण गराई शैक्षिक मान्यता लिन सक्ने बारे पनि सापकोटाले अवगत गराउनु भएको थियो । दश वर्षदेखि रोटरी क्लब हेटौँडाले समूहमा आधारित बिना धितो, बिना व्याजको लघु कर्जा कार्यक्रम मार्फत महिलाहरुको आयआर्जनमा सहयोग गर्दै आएको छ । सोही समूहका सदस्यहरुलाई तालिममा विशेष प्राथमिकता दिइएको छ भने कार्यक्रममा समावेश भएको परिवारबाट वार्षिक ५ जना विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।