हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थीलाई सडक दुर्घटना रोकथामसम्बन्धी सचेतना दिइएको छ । मंगलबार चण्डिका बाल समूहको आयोजनामा भएको सचेतना कार्यक्रममा शिक्षक देवराज तिमिल्सनाले सहजीकरण गर्नुभएको थियो ।
बालसमूहकी अध्यक्ष आकृति पुलामीको सभाध्यक्षमा कार्यक्रम भएको हो । विद्यालय क्षेत्रमा हुनसक्ने सम्भावित सडक दुर्घटनालाई रोकथाम गर्ने उद्देश्यले सचेतना कार्यक्रम गरिएको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभयो । कान्तिलोकपथसँगै विद्यालय रहेकाले आवत–जावत गर्ने सवारीसाधनलक्षित सडक दुर्घटना सचेतना कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।
फागुन १ गतेदेखि काठमाडौं–हेटौंडा छोटो मार्गको कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी छोटो दूरीको बाटो मर्मतका लागि बन्द गरिएकोले कान्तिराजपथ हुँदै काठमाडौंबाट हेटौंडा आउने सवारीको चाप बढेको छ । यातायातका साधनको बढ्दो चापकै कारण सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक फुयाँलले बताउनुभएको छ ।