हेटौंडाः प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालय द्वितीय हुन सफल भएको छ । शनिबार शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा सहभागी ११ विद्यालयमध्ये महेन्द्र माध्यमिक विद्यालय द्वितीय भएको हो ।

मकवानपुरबाट ९ वटा पालिकाका विद्यालयले जिल्लास्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी भएको भीमफेदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । जिल्लास्तरीय प्रतियोगितामा मकवानपुर जिल्लाबाट छनौट भई महेन्द्र माध्यमिक विद्यालयले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाएको उहाँले बताउनुभयो । मकवानपुरको कैलाश गाउँपालिका भने जिल्लास्तरीय प्रतियोगितामा सहभागी नभएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत उन्नति ढकालले बताउनुभयो ।

विज्ञान प्रदर्शनीमा दोलखा जिल्लाको मेलुङ–६ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय प्रथम भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्व–४ मा रहेको जनक सेकेन्डरी स्कूल तृतीय भयो भने सिन्धुली जिल्लाको घ्याङ्लेख–१ मा रहेको श्री माध्यमिक विद्यालय सान्त्वना हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार रुपैयाँ, १३ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

प्रतियोगितामा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालय, सिन्धुली जिल्लाको घ्याङ्लेख–१ मा रहेको श्री माध्यमिक विद्यालय, काठमाडौं जिल्लाको पुरानोकालीमाटी-१३, बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय, काभ्रेपलाञ्चोक जिल्लाका नमोबुद्व–४ मा रहेको जनक सेकेन्डरी स्कूल सहभागी भएका थिए । यस्तै, भक्तपुर जिल्लाको अक्सफोर्ड प्राक्टिकल स्कूल, सिन्धुपाल्चोक जिल्लाको फलेफी–४ मा रहेको सेतीदेवी माध्यमिक विद्यालय, धादिङ जिल्लाको ज्वालामुखी–५ मा रहेको त्रिपुरासुन्दरी माध्यमिक विद्यालय, चितवन जिल्लाको भरतपुर–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय, नुवाकोट जिल्लाको ककनी–६ मा रहेको नवजीवन माध्यमिक विद्यालय सहभागी भएका थिए ।

निर्देशक दर्जीको सभाध्यक्ष तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । कार्यक्रममा प्रमुख अतिथि सापकोटाले यस्ता प्रदर्शनीले विद्यार्थीको शिक्षण सिकाइमा सहयोग पुग्ने बताउनुभयो । युवालाई वैज्ञानिक बनाउनसमेत प्रतियोगिताले सहयोग पुगेको उहाँको भनाइ छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लामात्र प्रतियोगितामा सहभागी भएका छन् । ललितपुर र रामेछाप जिल्लाका विद्यालय भने सहभागी जनाएको भएनन् । विद्यालयमा एसईईको अभ्यास परीक्षा सञ्चालन भएका कारण २ जिल्लाका विद्यालयका विद्यार्थीले सहभागी जनाउन नसकेको निर्देशक दर्जीको भनाइ छ । एक सय १९ पालिकामा पालिकास्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम भएको थियो । सोहीअनुरुपमा जिल्लास्तरीयबाट छनौट भई आएका विद्यालयमात्र प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी भए उहाँको भनाइ छ ।