नेपाली सेनाको व्यवस्थापनमा काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण भइरहेको छ । करिब साढे ५ वर्षअघिबाट औपचारिक सुरुवात भएको द्रुतमार्गको निर्माणमा ढिलाइ भइरहेको छ । बहुचर्चित राष्ट्रिय गौरबको आयोजना द्रुतमार्ग निर्माणको जिम्मा २०७४ वैशाख २१ मा नेपाली सेनालाई दिने निर्णय भएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारहतार द्रुतमार्गको शिलान्याससमेत गरेका थिए । शिलान्यासपछि २०७४ साउन २७ गतेबाट द्रुतमार्ग निर्माणको औपचारिक जिम्मेवारी पाएपछि नेपाली सेनाले मार्ग निर्माण अघि बढाएको थियो । नेपाली सेनाले नै ट्रयाक खोलेको द्रुतमार्ग निर्माण सुरु भएको दुई वर्षपछि २०७६ भदौ ४ गते मन्त्रिपरिषद्ले द्रुतमार्गको डीपीआर स्वीकृत गरेपछि यसको निर्माणले गति लिने आशा गरिएको भए पनि विभिन्न कारणले द्रुतमार्ग निर्माणमा अलमल भइरहको छ । पछिल्लो समय द्रुतमार्गका अधिकांश संरचना निर्माणले गति लिएको छ ।
पछिल्लो समय द्रुतमार्ग निर्माणको क्रम तिब्र पारिएको छ । द्रुतमार्गअन्तर्गत्का ३ वटै सुरुङको निर्माण धमाधम भइरहेको छ भने ठूला एवम् अग्ला पुलहरुको ठेक्का प्रक्रिया चलिरहेको छ । मार्गको दायाँ–बायाँ कटान गर्ने, सम्याउने, टेवा पर्खाल लगाउनेजस्ता सामान्य काम नेपाली ठेकेदार तथा सेना आफैंले नै गरिरहेको छ भने अन्य जटिल प्रकृतिका कार्यहरु अन्तर्राष्ट्रिय ठेक्कामार्फत् भइरहेको छ । काठमाडौं, ललितपुर, मकवानपुर र बारा जिल्लालाई छुने मार्गको अधिकांश भाग मकवानपुर जिल्लामा पर्दछ । मकवानपुर जिल्लाको बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका क्षेत्रमा द्रुतमार्गका अधिकांश भाग पर्दछन् । यसैकारण मार्गको निर्माण प्रगतिका बारेमा मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिले अवलोकन गरी द्रुतमार्गको प्रगतिबारे जानकारी लिएका छन् । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख, भीमफेदी गाउँपालिकाका अध्यक्ष, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष, बकैया गाउँपालिकाका अध्यक्षलगायत सुरक्षा निकायका प्रमुखहरुले द्रुतमार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेका छन् ।
७२.५ किलोमिटर लम्बाइको द्रुतमार्गमा तीनवटा सुरुङ निर्माण हुँदैछ । महादेवडाँडामा ३.३५ किमी, धेद्रेमा १.६३ किमी र लेनडाँडामा १.४३ किमी गरी ६.४२ किमी सुरुङमार्ग बनाइनेछ । डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर हुनेछ । द्रुतमार्गमा १६ वटा विशेष प्रकारका, ४९ वटा ठूला र २२ वटा साना गरी कूल ८७ वटा पुल हुनेछन् । पुलहरुको कूल लम्बाई १०.६ किलोमिटर हुनेछ । सुरुङ र पुलबाहेक सडकको मात्र लम्बाई ५५.५ किलोमिटर हुनेछ । द्रुतमार्गमा प्यासेन्जर अन्डरपास १२ वटा र ओभरपास एउटा तथा सवारी अन्डरपास ५ वटा र ओभरपास ४ वटा हुनेछन् । द्रुतमार्गलाई मकवानपुरको बुधुनेमा मात्र लिंक गरिनेछ । हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति भएको द्रुतमार्ग निर्माणको काम विगतमा सन्तोषजनक बन्न सकेको थिएन । पछिल्लो समय सरकार तथा स्थानीय जनप्रतिनिधिसमेतको चासो बढेपछि मार्ग निर्माणले थप गति लिएको छ ।
द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले १० वटा बेसक्याम्प स्थापना गरी काम गरिरहेको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको द्रुतमार्गको डीपीआर तयारीमा भएकाले ढिलाई, पुल एवम् सुरुङ निर्माणका लागि टेण्डर प्रक्रियामा भएको ढिलाई आदि कारणले निर्माण अवधि लम्बिएको छ । देशको राजधानीलाई मध्य तराईसँग जोड्ने सबैभन्दा छोटो र भरपर्दो मार्ग मानिएको द्रुतमार्गमा निर्माण सम्पन्न भएपछि इन्धन तथा सवारी पार्टपूर्जाको खपतमा कमी आउने र छिटो आवतजावत गर्न सकिने भएकाले ठूलो आर्थिक फाइदा हुने अनुमान गरिएको छ । यसले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने आशासमेत गरिएको छ । द्रुतमार्ग निर्माणमा अनावश्यक अलमल नगरी द्रुत गति प्रदान गर्नु आवश्यक छ ।