हेटौंडाः जिल्ला खेलकुद विकास समिति मकवानपुर आगामी फागुन ६ र ७ गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता गर्ने तयारीमा रहेको छ । तर, मकवानपुरको १० वटा पालिकामध्ये ६ वटा पालिकाले मात्र राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता सम्पन्न गरेका छन् ।
जिल्लाका ४ वटा पालिकामा छनोट प्रतियोगिता हुन बाँकी रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी गराउनुभयो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेढी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता सम्पन्न गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र बागमती गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता सम्पन्न हुन बाँकी रहेको छ । बागमती गाउँपालिकाले यही माघ २७ गते शुक्रबार पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता गर्ने सूचना प्रकाशन गरिसककेको छ । यस्तै, राक्सिराङ गाउँपालिकाले सोमबार सूचना प्रकाशन गरेर सबै वडा तहमा रहेका विद्यालयलाई फागुन २ र ३ गते हुने पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।
कैलाश गाउँपालिकाले पनि फागुन ४ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता गर्ने निर्णय भएको छनोट प्रतियोगिता सदस्य संयोजक सूर्यबहादुर थिङले जानकारी दिनुभयो । यसका लागि कैलाश गाउँपालिकामा रहेको विद्यालयहरुलाई सहभागी हुनका लागि सूचना पठाइसकेको थिङले बताउनुभयो । मनहरी गाउँपालिकाले आज बुधबार ९ वटै वडामा रहेका विद्यालयसँग बैठक बसी पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता गर्ने वा नगर्ने टुंगो लाग्ने मनहरी गाउँपालिकाका सूचना अधिकारी हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषदले जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न ४ लाख रुपैयाँ बजेट विनियोजन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कोइरालाले बताउनुभयो ।