महोत्सव समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समामुख भुवन कुमार पाठक ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको १० औं औद्योगिक व्यापार महोत्सव सोमबार सकिएको छ । १३ दिनसम्म सञ्चालित महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार भएको संघको अनुमान छ ।

महोत्सव अवधिभर करिब एक लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको अनुमान आयोजकको रहेको छ । महोत्सवको अन्तिम दिन दर्शक र सामान खरिद गर्नेहरुको भीड रहेको थियो । सोमबार करिब १० हजारभन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको अनुमान रहेको संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालले बताउनुभयो । महोत्सवका संयोजक एवम् संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा महोत्सवको समापन भएको छ ।

समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, निर्वतमान अध्यक्ष कृष्ण कटुवाल, मकवानपुरका विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवम् वडाध्यक्ष सविन न्यौपाने, वडा १० वडाध्यक्ष फुर्वा दोर्जे लामा, संघका सल्लाहकारहरु तथा विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।