हेटौंडाः हेटौंडा-१३, पदमपोखरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करिब १५ प्रतिशत विद्यार्थीको उपस्थिति अनियमित हुने गरेको छ । प्रत्येक कक्षामा ३ जनासम्म विद्यार्थी नियमित आउने नगरेको विद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयका ३० प्रतिशत विद्यार्थीले बिचैमा पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो । निरक्षर र विपन्न समुदायका अभिभावकको बालबालिकाले बिचैमा पढाइ छाड्ने गरेको उहाँको भनाइ छ । आर्थिक समस्या र पढाउनुपर्छ भन्ने चेतनाको कमीले बिचैमा पढाइ छोड्ने र नियमित पढ्न नआउने पाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयको अर्धवार्षिक परीक्षाको नतिजा सन्तोषजनक रहेको भएपनि सोचेजस्तो नभएको उहाँले बताउनुभयो । उहाँले अतिरिक्त सिर्जनाका लागि लाग्नुपर्ने बताउनुहुँदै दोषारोपण गर्न पनि नहुने उल्लेख गर्नुभयो ।

ग्रेडिङ प्रणालीले विद्यार्थीमा नपढे पनि हुन्छ भन्ने मानसिकता विकास भएको उहाँको भनाइ छ । यसैकारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्न पनि विद्यालयलाई चुनौती रहेको उहाँले बताउनुभयो । ‘कोरोना महामारीका कारण विद्यालयको मूल्यांकनको आधारमा विद्यार्थीलाई उत्तीर्ण गराइएको थियो’, प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो– ‘त्यतिबेला सबै विद्यार्थीले उत्कृष्ट अंक ल्याउन सफल भए पनि अहिले उत्कृष्ट अंक ल्याउन चुनौती रहेको छ ।’

शुक्रबार र शनिबार एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि विद्यालयले परीक्षा सञ्चालनसमेत गरिरहेको उहाँले बताउनुभयो । उहाँले न्यूनतम ग्रेड प्राप्त गर्नेमा विद्यालय विश्वस्त रहेको दावी गर्नुभयो ।