पुरस्कार तथा सम्मानको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा आँचलकी अध्यक्ष भावना सापकोटा ।

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरेर विभिन्न १० सम्मान तथा पुरस्कार घोषणा गरेको हो । भोलि शनिबार एक समारोहकाबीच पुरस्कार तथा सम्मान प्रदान गरिने आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभएको छ ।

आँचल साहित्य कला पुञ्जले आँचल सम्मान–२०७९ बाट साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सम्मान गर्ने भएको छ । वैद्य मकवानपुरमा साहित्यिक गतिविधिमा आर्थिक सहयोग गर्ने व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । १० हजार एक राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान हेटौंडाकी गजलकार बबी थापालाई, १० हजार एक राशिकै प्रतिभा छन्द पुरस्कार इटहरीकी टीका आत्रेयलाई, सात हजार पाँच सय राशिको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान हेटौंडाका राममणि दाहाललाई प्रदान गर्ने निर्णय गरिएको आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो ।

यस्तै ११ हजार एक सय ११ राशिको दीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार हेटौंडाकै साहित्यकार माधव पोख्रेललाई, १५ हजार एक राशिको अप्सरा तिम्सिना स्मृति साहित्य सम्मान काठमाडौंकी आख्यानकार माया ठकुरीलाई, तीन हजार पाँच सय राशिको मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार हेटौंडाकै समर्पण न्यौपानेलाई, पाँच हजार एक राशिको वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान लोकलयका मकवानपुरे अग्रज साहित्यकार ओमभक्त भण्डारीलाई, पाँच हजार एक राशिको मुक्ति–तारा नवप्रतिभा सम्मान हेटौंडाकै कृतिका लौंडारीलाई र १० हजार एक राशिको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान काठमाडौंमा रहेर बासुरीवादनमा क्रियाशील मकवानपुरको बकैया–५ का विष्णुबहादुर विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार तथा सम्मान समर्पण समारोहमा रचना वाचन पनि हुनेछ । पत्रकार सम्मेलनमा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालको पनि उपस्थिति रहेको थियो । २०६८ सालमा आँचल साहित्य कला पुञ्जको स्थापना भएको हो ।