सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन हस्तान्तर गर्दै उपप्रमुख उमा कुमारी लामा ।

हेटौंडाः इन्द्रसरोवर गाउँपालिकाका २ वटा विद्यालयलाई सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन सहयोग गरिएको छ । गाउँपालिकाले महाचुनी माध्यमिक विद्यालय र बस्तालादेवी माध्यमिक विद्यालयलाई सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन सहयोग गरेको हो ।

बुधबार उद्घाटन कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले महाचुनी माध्यमिक विद्यालयलाई सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन हस्तान्तरण गर्नुभएको छ । लामाले किशोरीको महिनावारीमा सुधार गर्न, स्वास्थ्य समस्यालाई निराकरण गर्न, छात्राहरु नियमित विद्यालय आउन र विद्यालयलाई सफा राख्न उक्त कार्यक्रमले सहयोग पुग्ने दाबी गर्नुभयो । १ लाख रुपैयाँ बराबरको मेसिन विद्यालयलाई लामाले हस्तान्तरण गर्नुभएको हो । यस्तै, बस्तालादेवी माध्यमिक विद्यालयलाई मेसिन उपलब्ध गरिएपनि औपचारिक कार्यक्रम गरी हस्तान्तरण गर्न भने बाँकी रहेको इन्द्रसरोवर गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष पालिकाले विद्यालयलाई सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन हस्तान्तरण कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको पन्तले बताउनुभयो । पर्याप्त बजेटको अभावका कारण अन्य विद्यालयलाई भने अगामी शैक्षिक सत्रमा मात्र सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन दिइने उहाँले जानकारी दिनुभयो । ७ वटा सामुदायिक विद्यालयलाई सेनिटरी प्याड डिस्पोज र भेन्डिङ मेसिन हस्तान्तरण गरिने कार्यक्रम पालिकाको रहेको बताउनुभयो । सोही बमोजिम २ वटा विद्यालयलाई भने हस्तान्तरण गरिसकेको र बाँकी ५ वटा विद्यालयलाई भने अगामी शैक्षिक सत्रमा दिइने बताउनुभयो । यस्तै, गाउँपालिकाकी उपाध्यक्ष र शिक्षा शाखा प्रमुखले महाचुनी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला र गणित प्रयोगशालाको अवलोकन समेत गर्नुभएको छ ।