हेटौंडाः बागमती प्रदेशमा मन्त्रीपरिषद् बिस्तार गरिएको छ । प्रदेशको ११ वटा मन्त्रालयमा दलहरुले सहमति अनुसार नै आ–आफ्नो मन्त्रीको नाम टुंगो लगाएका हुन् । प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएको थियो ।

नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । यस्तै, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भईसक्नु भएको छ ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् । माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ । राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको जिम्मेवारी दिईएको छ । उहाँले यसअघि बिना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको थियो । नवनियुक्त मन्त्रीहरुको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।