हेटौंडाः नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरको सातौं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा भएको छ । “व्यावसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान” भन्ने मूलनाराका साथ साधारण सभा गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा मकवानपुरका निमित्त कार्यालय प्रमुख ब्रज किशोर ठाकुरको प्रमुख आतिथ्य तथा नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरका अध्यक्ष झंकनाथ सुवेदी (विवेक) को सभाध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभामा अध्यक्ष सुवेदीले वार्षिक प्रतिवेदन तथा सचिव बद्री प्रसाद अधिकारीले प्रगति प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, बस्तुगत उपाध्यक्ष राजु अधिकारी, कृषि विकास बैंक कान्तिराजपथ शाखा प्रबन्धक ध्रुव प्रसाद पौडेल लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो ।