निर्वाचन भएको झण्डै दुई महिनापछि बागमती प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिएका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै अब प्रदेश सरकारलाई पूर्णता दिएर प्रदेशको विकास निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । संघीय शासन व्यवस्थाको एउटा महत्वपूर्ण अंग प्रदेश सरकार हो । आ–आफ्नो प्रदेशको विकास र समृद्धिको प्रतिबद्धता गरेको यसअघिको प्रदेश सरकारको काम कारबाही खासै उल्लेख्य रहेनन् । राजनीतिक अस्थिरताका कारण विगत ५ वर्षमा बागमती प्रदेशमा ३ जना मुख्यमन्त्री बने । सबैभन्दा बढी समय मुख्यमन्त्री बनेका डोरमणि पौडेल नेतृत्वको सरकारले केही महत्वपूर्ण योजना अघि सारेको भए पनि कार्यान्वयन हुन सकेनन् । त्यसपछि निकै छोटो अवधि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले एउटा मन्त्रालय थप गरेर आर्थिक भार थप्ने कामबाहेक केही काम गरेको भेटिँदैन । करिब १५ महिना प्रदेश सरकारको नेतृत्व गरेका राजेन्द्र पाण्डेको कार्यकालमा पनि सम्झनालायक कुनै काम हुन सकेन । बरु उनले प्रदेशमा ६ वटा मन्त्रालय थपेर औचित्यहीन खर्चवृद्धि मात्रै गरेका छन् ।
वर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेल सत्ता गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । जमकट्टेलले यसअघिका दुईवटा सरकारमा प्रदेशको मन्त्री बनेर काम गरिसकेका कारण उनको नेतृत्वको सरकारप्रति केही आशा गर्न सकिन्छ । मुख्यमन्त्री जमकट्टेलले पनि मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि आफूलाई काम गर्न उत्साह मिलेको बताएका छन् । ११० सदस्यीय प्रदेशसभाबाट १०५ प्रदेशसभा सदस्यबाट उनले विश्वासको मत पाएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये ३ सदस्य रहेको नेमकिपाबाहेक सबै दलबाट जमकट्टेलले विश्वासको मत पाएका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने करिब सबै सांसदहरुले आफूलाई विश्वासको मत दिएका कारण काम गर्ने उत्साह मिलेको उनको भनाइ छ । प्रदेशमा स्थायित्व, सुशासन र विकासका निम्ति सबै एकै ठाउँमा भएको अवस्थामा काम गर्न उत्साह मिलेको उनले बताएका हुन् ।
मुख्यमन्त्री जमकट्टेललाई अहिलको अवस्थामा काम गर्न अवसर र चुनौती दुबै छ । प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाएर ११ मा ल्याउने उनको योजना सकारात्मक मान्नुपर्छ । सकेसम्म मन्त्रालयको संख्या अझ घटाएर ७÷८ वटामा सिमित गर्न सकेमा झनै राम्रो हुनेछ । तर, मुख्यमन्त्रीले चाहेजस्तो सजिलो छैन । ५ वटा दलको समर्थन र ६ वटा दलको विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्रीलाई सरकारलाई पूर्णता दिनु पहिलो चुनौती हुनेछ । सबै दलहरुबाट मन्त्री बन्ने आकांक्षी धेरै हुने र मन्त्रालयको संख्या घटाउनुपर्ने भएका कारण भागबण्डा मिलाउन निकै सकस हुने देखिन्छ । जसोतसो सरकारलाई पूर्णता दिएपछि पनि काम गर्न सजिलो पक्कै हुँदैन । सत्ता गठबन्धनका सबै दलको सहमतिमा काम गर्नुपर्ने भएकाले सरकारले प्रभावकारी नीति, कार्यक्रम र बजेट ल्याउन थप चुनौतीपूर्ण हुनेछ ।
आफ्नो कार्यकालमा परिणाममुखी काम गरेर समृद्ध बागमतीको सपना साकार पार्ने हौसला राखेका मुख्यमन्त्रीको कार्यशैली कस्तो हुन्छ ? हेर्न बाँकी छ । प्रदेश एक्लैले केही गर्न सक्दैन । संघ तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रदेश सरकारको प्रभावकारिता निर्भर रहन्छ । सानातिना कुराहरुमा असन्तुष्टि जाहेर गर्ने राजनीतिक संस्कारले सरकारलाई काम गर्न बाधा पुग्नेछ । प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुमा आफ्नो प्रदेशलाई कस्तो बनाउने, कुन कामलाई प्राथमिकता दिने र विवादरहित भएर कसरी काम गर्ने भन्ने स्पष्ट योजनाबिना जति नै उत्साहित भए पनि परिणाम देखिने काम हुन सक्दैन । प्रदेशको आवश्यकता र विशिष्टताको स्पष्ट पहिचान गरेर भएका स्रोत साधनको उचित परिचालन गर्न सक्नुपर्छ । सम्झनालायक र परिणाममुखी काम गरेर बागमती प्रदेशलाई नमुना प्रदेश बनाउन मुख्यमन्त्रीको उत्साह कायम रहोस्, हाम्रो शुभकामना छ ।