कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख मिना कुमारी लामा ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारदेखि नगरस्तरीय स्काउट शिक्षक भेला र पुनर्ताजगी तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा स्थानीय स्काउट समितिको संयोजनमा दुई दिवसीय भेला र पुनर्ताजगी तालिम सुरु भएको हो ।

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यमा भेला तथा पुनर्ताजगी तालिम सुरु भएको हो । दुई दिवसीय कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले अतिरिक्त क्रियाकलापसँगै राष्ट्रिय भावना युवालाई जोड्नु संवेदनशिल विषय रहेको बताउनुभयो । प्रविधिमैत्रीले चुनौतिसँगै अवसर जोडिएको बताउनुहुँदै उपमहानगरले स्काउटलाई पूर्णता दिन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय स्काउट कार्यालयका संयोजक दिपेन्द्र रोक्काले विद्यालयहरुमा स्काउटले पूर्णता नपाइरहेको अवस्थामा एक विद्यालय एक स्काउट शिक्षक अवधारणालाई प्रभावकारी बनाउन भेला र तालिम आयोजना गरिएको जानकारी दिनुभयो । नेपाल स्काउट बागमती प्रदेश स्काउटका सदस्य अशोक सारु मगरले स्काउट शिक्षक पुनर्ताजगी प्रशिक्षण सुरु गर्नुभएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ लगायतको आतिथ्यता रहेको थियो । भेला तथा पुनर्ताजगी तालिम भोली शुक्रबारसम्म हुनेछ ।