हेटौंडाः काठमाडौंस्थित दशरथ रंगशालाको भलिबल कोर्टमा जारी सातौं राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसीपमा मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार बुढानिलकण्ठ भलिबल एकेडेमीलाई सोझो ३ सेटले हराउँदै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान क्वाटरफाइनल प्रवेश गरेको हो ।
प्रतिष्ठानले २७–२५, २५–१८, २५–१६ को सोझो ३ सेटले बुढानिलकण्ठलाई पराजित गरेको नेपाल भलिबल संघको भलिबल इन्फरमेसन सिस्टम (भिआइएस)का सदस्य सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । यस जितसँगै प्रतिष्ठानले ३ खेलबाट ६ अंक जोडेको छ । खेलको केल्मी प्लेयर अफ द म्याच प्रतिष्ठानका विवेक तामाङ घोषित भएका छन् ।
आजको खेल जितेसँगै प्रतिष्ठान दोस्रो चरणमा प्रवेश गर्नुका साथै नेपाल भलिबल संघले आयोजना गर्ने एनभीए लिगमा समेत खेल्न पाउने श्रेष्ठले जानकारी गर्नुभयो । अब प्रतिष्ठानले शुक्रबार शसत्र प्रहरी बलको सामना गर्नेछ । खेल दिउँसो २ बजे हुनेछ ।
एनभिए भलिबल च्याम्पियनसीपको उपाधि विजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । च्याम्पियनसीपको उपाधिको फाइनल खेल माघ १ गते हुनेछ ।











