हेटौंडाः बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन कार्यदल गठन भएकोे छ । मंगलबार मुख्यमन्त्री कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाको संयोकत्वमा कार्यदल गठन भएको हो ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार पदभार ग्रहण गर्नुहुँदै प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गर्नुभएको हो । मन्त्रालय घटाउन ५ सदस्यीय कार्यदल गठन भएको मुख्यमन्त्री कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो । कार्यदलमा आर्थिक मामला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कानून सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहनुभएको सचिव निरौलाले जानकारी दिनुभयो ।
कार्यदललाई प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ । बागमती प्रदेशमा अहिले १४ वटा मन्त्रालय छ । २०७८ कात्तिक ११ गते बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएका राजेन्द्र प्रसाद पाण्डेले मन्त्रालयको संख्या ८ बाट बढाएर १४ मा पुर्याउनुभएको थियो ।











