हेटौंडाः बालबालिकालाई सामाजिक संजालबाट हुने हिंसाबाट संरक्षण गर्नु प्रमुख चुनौति भएको सिविन बाल हेल्प लाइनका व्यवस्थापक माधव लोहनीले बताउनुभएको छ । अनलाइनमा बाल संरक्षण बारे सरोकारवालासँग छलफलमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले बाल दुर्व्यवहार र यौन शोषणलाई न्यूनिकरण गर्न अभिभावक सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
अनलाइनबाट हुने बाल दुर्व्यवहार तथा शोषण जस्ता सवालबाट बालबालिकालाई जोगाउन सबैले पहल गर्नुपर्ने उहाँको भनाई छ । अनलाइन बाल संरक्षणसम्बन्धी सचेतना बढाउन सचेतनामुलक सामग्रीहरुबाट प्रचार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । अनलाइन शोषणबारे उजुरी काठमाडौंमा मात्रै हुने भएकोले न्यायमा समस्या हुने गरेको अधिकारकर्मीहरुको भनाई छ । उजुरीको लागि पीडित पक्ष काठमाडौंसम्म नजाने कारण पनि कतिपय मुद्दाहरु बाहिर ल्याउन नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।
कार्यक्रममा राडो नेपालका दिपेन्द्र पाठक, माईती नेपालकी माया लामा, हिमराईट्सकी कुमारी मोक्तानलगायतले बालबालिकाको क्षेत्रमा काम गर्दाको अनुभव सुनाएका थिए । सिविन नेपालका अध्यक्ष माधव प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश मानव अधिकार आयोग, हेटौंडा उपमहानगरपालिका, इन्सेक लगायतका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।











