राम नरेश गिरी

हेटौंडाः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी राम नरेश गिरी हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको क्रिकेट प्रशिक्षकको रुपमा काम गरिरहनुभएको छ । सन् २०१२ देखि यु–१९ तथा सन् २०१३ देखि २०१५ सम्म राष्ट्रिय टिममा बलरको रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएका गिरीले एक वर्षदेखि कक्षा ११ र १२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई क्रिकेट प्रशिक्षण गराइरहनुभएको छ ।

हेटौंडा–४, हुप्रचौरस्थित क्रिकेट प्रशिक्षण केज तथा क्रिजमै विद्यार्थीलाई क्रिकेट सिकाइरहनुभएका गिरी हेटौंडाकै स्थायीवासी हुनुहुन्छ । क्रिकेटप्रति युवा पुस्ताको बढ्दो आकर्षण र प्रशिक्षणको आवश्यकतालाई हेरेर राष्ट्रिय टिमका पूर्वखेलाडीलाई प्रशिक्षकको रुपमा जिम्मेवारी दिइएको हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले जानकारी दिनुभएको छ । एक वर्षदेखि प्रशिक्षकको भूमिकामा रहनुभएका गिरीले विद्यार्थीलाई क्रिकेटको प्राविधिक ज्ञान दिनुका साथै अभ्यासमा पनि राम्रो सहयोग पुगेको प्रिन्सीपल जोशीको भनाइ छ । खेलाडीलाई प्रशिक्षणसँगै अभ्यासका लागि मैत्रीपूर्ण खेल खेलाउने कार्य भइरहेको प्रिन्सीपल जोशीले जानकारी दिनुभयो ।

आफ्नै जिल्लामा किशोर खेलाडीलाई प्रशिक्षण गराउन पाउँदा खुसी लागेको गिरीको भनाइ छ । २७ वर्षीय गिरी म्यानेजमेन्टका किशोर खेलाडीलाई प्रशिक्षण दिँदै गर्दा किशोर खेलाडीलाई राष्ट्रिय टिमको सदस्यको रुपमा स्थापित गर्ने योजना सुनाउनुहुन्छ । हालै प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा मकवानपुर जिल्लाको तर्फबाट आफूले प्रशिक्षण दिएका किशोर खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुहुँदै आगामी दिनमा अझै राम्रो गर्न सकिने दावी गर्नुहुन्छ । नियमित प्रशिक्षण गर्ने मैदान नहुनु नै सबैभन्दा बढी चिन्ताको विषय भएको गिरी बताउनुहुन्छ ।