हेटौंडाः मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को प्रायोजनमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता पुस २९ गतेदेखि हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले भलिबल प्रतियोगिताको बारेमा जानकारी दिनुभएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिमले सान्त्वनास्वरुप ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमीफाइनलमा पराजित हुने टिमलाई सान्त्वना रकमको प्रयोजन ईन्द्रप्रसाद सञ्जेलले गर्नुहुने भएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई समान २/२ हजार रहेको छ । अनुशासित टिमलाई बल र नेट समेत प्रदान गरिने छ । शिक्षकहरुको सहभागिता रहने प्रतियोगितामा टिम इन्ट्री २ हजार रुपैयाँ रहेको छ । हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको कुल खर्च १ लाख ९२ हजार रुपैयाँ लाग्ने पोखरेलले बताउनुभयो ।