
हेटौंडाः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ विघटन गरी तेक्वान्दो महासंघ गठन गरेको विरोधमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरले विरोध जनाएको छ ।
आधिकारिक तेक्वान्दो संघको रुपमा क्रियाशील रही ओलम्पिक खेलसम्म पदक जित्न सफल नेपाल तेक्वान्दो संघको समानान्तर राष्ट्रिय तेक्वान्दो संघ स्थापना गर्दै अहिले आएर नेपाल तेक्वान्दो संघलाई समेत विघटन गर्ने निर्णय गलत भएकोले विरोध गरिएको नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले दावी गर्नुभयो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरले सोमबार जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै राखेपको कदमको विरोध गरेको छ ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको नेतृत्वमा जिल्ला कार्यसमितिका पदाधिकारी, तेक्वान्दो खेलाडीले जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसर र प्रदेश खेलकुद विकास परिषद्को कार्यालय परिसरमा प्लेकार्ड प्रदर्शन गरी राखेपको निर्णयको विरोध गरेको थियो । जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास परिषद्मा केहीबेर तालाबन्दी समेत गरिएको थियो ।










