हेटौंडाः आगामी ‘ए’ डिभिजन फुटबल खेल खेलाउने सम्भावनाको खोजी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता विभाग प्रमुख सञ्जीव मिश्र मकवानपुर आइपुग्नुभएको छ । आगामी लिग राउण्ड रोविन प्रणालीमा खेलाउने तयारी गरिरहेको एन्फाले लिगले काठमाडौं उपत्यका बाहिर पनि विस्तार गर्ने उद्देश्यसहित सम्भावित खेल खेलाउने क्षेत्रको खोजी गरिरहेको मिश्रको भनाइ छ ।
मिश्रले आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला, हेटौंडा–६ स्थित गौरिटार रंगशाला र बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानको अवलोकन गर्नुभएको छ । मकवानपुरका तीनवटै खेलमैदानको अवलोकन र स्थानीयसँग अन्तरक्रियापछि एन्फाका प्रतियोगिता विभाग प्रमुख मिश्रले भन्नुभयो, ‘एन्फाले प्रतियोगिता आयोजनाका लागि आवश्यक न्यूनमत मापदण्डका आधारमा खेल खेलाउन सम्भव, असम्भव हुने निश्चित गर्नेछ ।’
काठमाडौंबाहिर मकवानपुर जिल्लामा लिग प्रतियोगिताअन्तर्गतका खेलहरु आयोजना गर्दै गर्दा प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ र सहयोग आवश्यक रहने मिश्रले औँल्याउनुभएको छ । मिश्रका अनुसार लिगका प्रतियोगिता आयोजना हुने भयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समेत आयोजना गर्ने आधार विकसित हुँदै जानेछ । मकवानपुर जिल्लाका तीनवटा खेलमैदानको अवलोकन गर्दा पिप्ले–क्याम्पा रंगशालामा केही सुधार गर्दा लिगका खेल खेलाउन सकिने उहाँले बताउनुभएको छ ।
मिश्रसँगै एन्फा केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिका लामा, एन्फा बागमती प्रदेश समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अखिल नेपाल फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठले खेल मैदानको अवलोकन गर्नु भएको थियो । आइतबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई भेट्नु भएका मिश्रले सोमबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।











