सडक दुर्घटनाबाट नेपालमा वर्षे करिब तीन हजार जनाको मृत्यु हुने गरेको छ । बाढी, पहिरो, चट्याङ, आगलागीलगायत अन्य प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यधिक वृद्धि हुँदै गएकोमा चासो र चिन्ता आवश्यक भएको छ । केही वर्षपहिले विश्व स्वास्थ्य संठनले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारलाई सचेत गराएको भए पनि सरकारले कानमा तेल हालेको छैन । सडकमा गुड्ने सवारीकै भर पर्नुपर्ने यात्रुको बाध्यताबीच दुर्घटनाको दर भने महामारीजस्तै बढ्दै गएको छ । सडक सवारी दुर्घटनाको कारण खोजी गरी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी र दिगो प्रयासका लागि सम्बद्ध निकाय गम्भीर नहुँदासम्म दुर्घटना बढ्दै जाने निश्चित छ । चालकको लापरबाही, मादकपदार्थ सेवन, पैदल यात्रुको असावधानी, तीव्र गति वा अनावश्यक प्रतिस्पर्धा, सवारीसाधनको जीर्ण अवस्था, क्षमताभन्दा बढी यात्रु, अस्तव्यस्त एवम् गुणस्तरहीन सडक, आवश्यक स्थानमा ट्राफिक संकेतको अभाव, सडक अतिक्रमण र छाडा पशुजस्ता कुरा सडक दुर्घटनाका मुख्य कारण देखिएका छन् । सवारी दुर्घटनाको कारण जे भए पनि ट्राफिक एवम् अन्य नियम पालना नगर्दा नै दुर्घटना हुने हो ।
बागमती प्रदेशमा पनि सवारी दुर्घटना निकै वृद्धि भइरहेको छ । प्रदेशका १० जिल्लामा (काठमाडौं, भक्तपुर र ललितपुर बाहेक) चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा ६ सय ३९ वटा सवारी दुर्घटना भएको छ । यी दुर्घटनामा एक सय ४२ जनाको मृत्यु भएको छ भने एक हजार ४ सय २३ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको घटना विवरणअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना र त्यसबाट ज्यान गुमाउनेको संख्या वृद्धि हुँदै गएको देखिन्छ । प्रदेशभर गत आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ७ सय ९८ सवारी दुर्घटना हुँदा ४ सय १३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ७ सय ९३ सवारी दुर्घटना हुँदा ४ सय ४ जनाको मृत्यु र आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ सवारी दुर्घटना हुँदा ३ सय ३५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्ष २०७८/०७९ मा भएका सवारी दुर्घटनामध्ये एक हजार एक सय १५ दुर्घटना मानवीय लापरबाहीका कारण, ६ सय १० सडकको कारण र ६७ यान्त्रिक कारणले रहेको छ ।
सवारी दुर्घटनाका कारण यान्त्रिक, मानवीय, वातावरणीय र सडकको भौतिक अवस्था रहेको भए पनि अधिकांश सवारी दुर्घटना मानवीय त्रुटीका कारणले हुने गरेको छ । सडकको अवस्था, सवारी साधनको यान्त्रिक कारण र अन्य वातावरणीय कारण पनि दुर्घटना हुने प्रहरीको अनुसन्धानमा देखिएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको भए पनि पर्याप्त छैनन् । प्रहरीले समयसमयमा सवारी साधनको यान्त्रिक परीक्षण गरी मर्मत तथा सुधार गर्न लगाउने, सवारीको तीव्र गति नियन्त्रणमा टाइमकार्ड लागू गर्ने, ट्राफिक चेकिङ गरी नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने गरेको भए पनि दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।
सवारी दुर्घटनाका कारण धेरै यात्रुले ज्यान गुमाउनुपर्ने घटनाका कारण दुर्घटना न्यूनीकरणबारे समयसमयमा चर्चा र बहस हुने गरेका छन् । सार्वजनिक यातायातको अव्यवस्थापन र जोखिमपूर्ण अवस्थामाथि अध्ययन, अनुसन्धान भएर थुप्रै प्रतिवेदन पनि तयार भएका छन् । पटकपटक यसलाई व्यवस्थित पार्नुपर्ने कुरा उठ्ने गरेको छ । यद्यपि जति नै छानविन, अध्ययन गरे पनि, जति ठूलो र महत्वपूर्ण प्रतिवेदन तयार भए पनि, जति नै बैठक र विमर्श गरे पनि तीतो यथार्थ के हो भने, हाम्रो सार्वजनिक यातायातको अवस्था अत्यन्तै अव्यवस्थित, लापर्बाह र जोखिमपूर्ण छ । जसका कारण सडक दुर्घटनाबाट जनधनको ठूलो क्षति भइरहेको छ ।











