हेटौंडाः १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय तेक्वान्दोे प्रतियोगिता सुरु भएको छ । जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा जिल्लाका विभिन्न १५ डोजाङका २ सय ५ खेलाडी सहभागिता रहेको जिल्ला तेक्वान्दो संघ मकवानपुरका सचिव विक्रम लामिछानेले बताउनुभयो । प्रतियोगितामा सहभागि खेलाडीहरुले तौल समुहको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषतर्फ ०–२० केजीदेखि ६० केजी तौल समुहमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै महिलातर्फ ०–२० केजीदेखि ५६ केजी तौल समुहमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल भने शनिबार हुनेछ । प्रतियोगितामा विभिन्न तौल समुहका विजेता र उपविजेता खेलाडीहरुले १० हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त गर्नेछ ।
जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजी बज्राचार्यको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की, कार्यालय प्रमुख माधव कोइराला र नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको आतिथ्यता रहेको थियो ।