हेटौंडाः विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी वन र वातावरणबारे बुझाउने पुस्तक “वातावरण शिक्षा” सार्वजनिक गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीले प्रकाशन गरेको पुस्तक सोमबार बिहान जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सार्वजनिक गरेर विद्यार्थीलाई वितरण समेत गरिएको छ ।
विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई वन तथा वातावरणबारे ज्ञान दिनुका साथै संरक्षणमा सक्रियताका लागि पुस्तक प्रकाशन गरिएको डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । वन जोगाउनु भनेको वन र वातावरणको संरक्षण गर्ने मात्रै नभई सभ्यता, इतिहास, संस्कृति जोगाउनु पनि भएको उहाँको भनाइ छ । वन र वातावरणको विषयमा विद्यार्थीलाई ज्ञान दिनु भनेको नयाँ पुस्तालाई शिक्षा दिनु पनि भएको उहाँले स्पष्ट पार्नुभयो ।
वन, वातावरण, वन्यजन्तुसम्बन्धी विज्ञ तथा पेशाकर्मीका साथै विद्यार्थीको कविता गरी ३७ वटा लेख, रचना पुस्तक समेटिएको छ । पुस्तकलाई विद्यालय, पुस्तकालय, क्याम्पसमा वितरण गरिने बताइएको छ । कार्यक्रममा बागमती प्रदेशको वन मन्त्री विशाल खड्का, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि आतिथ्य रहेको थियो । पुस्तकमाथि पत्रकार प्रताप विष्टले टिप्पणी गर्नुभएको थियो ।











