हेटौंडाः हेटौंडा–१० स्थित तरकारी तथा फलफुल थोक बजार आउने बुधबारदेखि हेटौंडा–१, राप्तीकिनारमा सर्ने भएको छ । अहिले सञ्चालित थोक बजारमा हेटौंडा उपमहानगरपालिकाले बस टर्मिनलसहितको व्यावसायिक कम्प्लेक्स निर्माण गरिरहेको छ ।
३३ लाख रुपैयाँ हेटौंडा उपमहानगरपालिकाको लगानीसहित व्यवसायीको समेत लगानीमा अस्थायीरुपमा हेटौंडा–१, राप्तीकिनारमा तरकारी तथा फलफुल थोक बजार निर्माण गरिएको हो । बागमती प्रदेश सरकारले दातृ निकायसँगको समेत सहयोगमा हेटौंडा–११ मा तरकारी तथा फलफुल थोक बजार निर्माण गरिरहेको छ । तरकारी तथा फलफुलको अस्थायी थोक बजारको आइतबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको छ ।

तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्ग बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको पनि उपस्थिति रहेको थियो । करिब ८० प्रतिशत कार्य पूरा भएर अस्थायी थोक बजार निर्माणको कार्यले पूर्णता नपाउँदै उद्घाटन गरी सञ्चालन गर्न लागिएको हो । अस्थायी बजारमा १ सय ७ वटा स्टल रहेको छ ।











