हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरको १८ औं साधारणसभा शनिबार बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, तान्द्राङस्थित कविलास रिसोर्टमा भएको छ । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा प्याव्सन केन्द्रीय समितिका उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह भएको थियो ।
साधारणसभाअन्तर्गत बन्द सत्रमा निजी विद्यालय सञ्चालकहरुले आफ्ना चुनौति र सम्भावनाका विषयमा छलफल गरेका छन् । छलफलका क्रममा दक्ष शिक्षकको अभावका विषयमा बढी चर्चा भएको प्याव्सन मकवानपुरका सचिव नवीन केसीले जानकारी दिनुभयो । दक्ष शिक्षकको अभाव हुनुका कारणबारे अध्ययन गरेर दक्ष शिक्षकको पर्याप्त उपलब्धता सुनिश्चित गर्न तालिम नै सञ्चालन गर्ने योजना बनाइएको सचिव केसीले जानकारी दिनुभयो ।
“निजी विद्यालयहरुले पछिल्लो समय शिक्षक व्यवस्थापनमै समस्या भोग्दै आएको निश्कर्ष निकालेका छौं । शिक्षकलाई विद्यालयमा टिकाई राख्न नै मुख्य चुनौति भएको निश्कर्ष छ,”, सचिव केसीले भन्नुभयो, “दक्ष शिक्षक उत्पादनका लागि प्याव्सनले तालिम केन्द्र नै स्थापना गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।” निजी विद्यालयमै शिक्षकले आफ्नो भविष्य देख्ने अवस्था सिर्जना गरी पर्याप्त सेवा, सुविधाको व्यवस्थापनमा विद्यालय सञ्चालक तयार हुँदै जानुपर्ने बुझाई सञ्चालकमा भएको उहाँले स्पष्ट पार्नुभयो । शिक्षा ऐन बन्न नसक्नु, छात्रवृत्तिको व्यवस्थापनमा समस्या हुनु पनि निजी विद्यालयको प्रमुख चुनौति भएको प्याव्सनले ठहर गरेको छ ।
प्याव्सन मकवानपुरले जिल्लामा रहेका सक्षम निजी विद्यालयको अगुवाईमा समग्र निजी विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने, विद्यालयबीच प्रतिस्पर्धाका बीच पनि सहकार्यको प्रयास, विद्यालयका पाठ्यक्रम र परीक्षा प्रणालीमा एकरुपता कायम गरी शैक्षिक गुणस्तर सुधारमा सहकार्य गर्न सकिने सम्भावनालाई पनि सकारात्मकरुपमा विश्लेषण गरिएको सचिव नवीन केसीले जानकारी दिनुभएको छ ।
प्याव्सन मकवानपुरमा ६१ वटा विद्यालय आवद्ध छन् । साधारणसभामा प्याव्सन मकवानपुरका सचिव नवीन केसीले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष विष्णुहरि सुवेदीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा प्याव्सन केन्द्रीय समितिकी सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, प्याव्सनका पूर्वकेन्द्रीय समिति सदस्य मदन दाहालको पनि आतिथ्य रहेको थियो ।











