अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालय ।

हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षकोे ४ महिनामा ४ सय ९४ भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको छ । चालु आर्थिक वर्षमा दर्ता भएका उजुरीमा १ सय ९० उजुरी फछ्र्यौट भएको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रियामा सार्वजनिक गरिएको आयोगको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको ४ सय ६८ उजुरी सरेर आएको छ । यस्तै, आयोगमा गत आर्थिक वर्षको ३ सय ७७ र चालु आर्थिक वर्षको ३ सय ४ गरी जम्मा ६ सय ८१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको तथ्याङ्कमा देखिन्छ । अन्तरक्रियामा सार्वजनिक गरिएको तथ्यांकअनुसार बाराको १ सय ३२, पर्साको १ सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा ३, रामेछाप र सिन्धुपाल्चोकको १÷१ र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोट र काभ्रेबाट कुनै उजुरी परेको छैन ।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधतर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी ४ उजुरी रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा २०७८÷७९ मा २४ हजार ३ सय ३१ उजुरी दर्ता तथा आरोपपत्र दायर भएको थियो । जसमा ७० दशमलब ५६ प्रतिशत १७ हजार १ सय ६९ वटा उजुरी फछ्र्यौट भएको कार्यालयले जनाएको छ । यस्तै, १३१ वटा उजुरी मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ ।

उजुरीको मन्त्रालयगत विवरण हेर्दा स्थानीय तह (संघीय मामला) मा सबैभन्दा धेरै उजुरी परेको देखिन्छ । स्थानीय तहमा पछिल्लो ४ महिनामा २ सय २० उजुरी परेको छ भने अघिल्लो आर्थिक वर्षको सरेको २ सय ७० उजुरीसहित जम्मा ४ सय ९० उजुरी रहेको तथ्यांकमा देखिन्छ । यस्तै, स्थानीय तह (शिक्षा)मा ४ महिनामा ८३ र गत आर्थिक वर्षको सरेको ५४ गरी १ सय ३७ उजुरी परेको छ । यता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणतर्फ चालु आर्थिक वर्षमा १८ र गत आर्थिक वर्षको २९ गरी ४७ उजुरी रहेका छन् । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण (वन वातावरणमात्र) चालु आर्थिक वर्षमा २७ र गत आर्थिक वर्षको १७ गरी ४४ वटा उजुरी रहेको देखिन्छ ।