हेटौंडाः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका उम्मेदवार र प्रदेश सभातर्फ १ (ख) को बाट उम्मेदवारको पराजयलाई लिएर विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा प्रकाशित सुचना–समाचारप्रति काङ्ग्रेस मकवानपुरले ध्यानाकर्षण भएको जनाइएको छ । आइतबार पार्टी जिल्ला कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा पार्टीभित्रकै नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हराउन लागेको भनी प्रकाशित सुचनाप्रति काङ्ग्रेस मकवानपुरले ध्यानाकर्षण भएको जनाएको हो ।
काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीभित्र अन्तरघात भएको भनी विभिन्न सामाजिक सञ्जालमा आएको र त्यो भ्रामक भएको बताउनुभयो । उहाँले पार्टीभित्र कुनै अन्तरघात नभएको बताउनुभयो । उहाँले अहिले मतदाताहरुले नयाँ उम्मेदवार चाहेको र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति मतदाता प्रभावित भएकाले यस पटकको निर्वाचनमा मत परिवर्तन भएको बताउनुभयो । उहाँले निर्वाचनको मतपरिणामबारे गठबन्धनभित्र छलफल गरिने बताउनुभयो । गठबन्धनभित्र नै केही समस्या रहेको उहाँको भनाई छ ।
प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट साझा उम्मेदवार काङ्ग्रेसकी सहमहामन्त्री समेत रहनुभएकी महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को (ख) मा आनन्दाराम पराजुली उम्मेदवार बन्नुभएको थियो । गठबन्धनबाट साझा उम्मेदवार भएपनि दुवै जनाले निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।










