हेटौंडाः हेटौंडा–५ स्थित अब्बलडाँडा टोल विकास संस्थाको २१ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष अभिमन्यु गौतमको अध्यक्षता तथा वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।
साधारणसभाले गौतमकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रन्जिता सिलवाल, सचिवमा भूमिनन्द गौतम र कोषाध्यक्षमा रजनी पौडेल सर्वसम्मत चयन हुनुभएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।
साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन अध्ध्यक्ष अभिमन्यु गौतमले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रजनी पौडेलले प्रस्तुत गर्नुभयो । साधारणसभाको अवसरमा टोलका ज्येष्ठ नागरिक, वडामा निर्वाचित जनप्रतिनिधि, असल करोबारी, उत्कृष्ट बालबचतकर्तालाई सम्मान समेत गरिएको थियो ।