हेटौंडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सर्वोत्कृष्ट मिश्रित सहकारीको सम्मान प्रदान गरिँदै ।

हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले सदस्य संस्थालाई ३९ करोड ३४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । प्रारम्भिक सहकारी संस्थाको संस्थागत विकासमा सहजीकरण गर्नुका साथै तरलता व्यवस्थापनमा पनि सहयोगी भूमिका निर्वाह गर्दै आएको संघले आर्थिक वर्ष २०७८/७९ मा ७६ करोड ११ लाख रुपैयाँ बचत संकलन गरेको जनाएको छ ।

पछिल्लो समय वित्तीय संस्थामा तरलता अभाव भइरहँदा पनि संघले जिल्लाका सहकारीमा तरलता सन्तुलन कायम राख्दै आएको दावी गरेको छ । शनिबार संघको १७ औं वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष कल्पना श्रेष्ठले प्रस्तुत गर्नुभएको संस्थागत विवरणमा संघको सेयर पुँजी ४ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराइएको छ । संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।

सहकारी अभियन्ता श्रमजीवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) की पूर्व अध्यक्ष एवम् ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, अशोक बाटिका साकोसका पूर्व अध्यक्ष जयप्रकाश घिमिरेलाई नगदसहित सम्मान गरेको छ । उत्कृष्ट सहकारी कर्मचारीमा महिला कल्याण साकोसकी व्यवस्थापक मेनुका कुमारी न्यौपाने र मनहरी साकोसका व्यवस्थापक हरि पाठकलाई नगदसहित सम्मान गरिएको छ । संघले विभिन्न विधामा सहकारी संस्थालाई सम्मान गरेको छ ।

संघले नियमित दैनिक कारोबार गर्ने गणपति बाबा साकोस, साकोस एकीकरण गर्ने श्रमिक र सुरक्षित साकोस, मनहरी र दर्पण महिला साकोसलाई सम्मान गरेको छ । यसैगरी समग्रमा संघमा सर्वाधिक बचत जम्मा गर्ने हेटौंडा साकोस, सर्वाधिक ऋण परिचालन गर्ने महिला सेवा साकोस र सर्वाधिक शेयर खरिद गर्ने श्रमिक सुरक्षित साकोसलाई पनि सम्मान गरेको छ ।

नगर/गाउँपालिकातर्फ सर्वाधिक बचत गर्ने जागरण साकोस, सर्वाधिक ऋण परिचालन गर्ने बज्रबाराही साकोस, सर्वाधिक शेयर खरिद गर्ने महिला जनजागृती साकोसलाई सम्मान गरिएको छ । त्यस्तै महिला साकोसतर्फ बचत जम्मा गर्ने महिला जनशक्ति साकोस, ऋण परिचालन गर्ने शुभकामना महिला साकोस, शेयर खरिद गर्ने सृजना महिला साकोसलाई सम्मान गरिएको हो । संघले सर्वोत्कृष्ट महिला साकोसमा हेटौंडा १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था र मिश्रित साकोसमा हेटौंडा–२ को नमूना प्रगति साकोस पुरस्कृत गरेको छ ।

साधारण सभामा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, संघका सल्लाहकार बद्रीप्रसाद लम्साल, संघका लेखा संयोजक सुलोचना स्याङ्तान, जिल्ला दुग्घ उत्पादन सहकारी संघका अध्यक्ष हरि प्रसाद कँडेल, बचत तथा ऋण सहकारी संघ बागमती प्रदेश समितिकी उपाध्यक्ष राधा सिन्तान, हेटौंडा उपमहानगरका शाखा अधिकृत सुस्मिता महत, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्यालको पनि आतिथ्य रहेको थियो ।