कुमारी मोक्तान

हेटौंडाः बागमती प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी हुनुभएको छ । बुधबार राती सार्वजनिक विवरणअनुसार नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई पराजित गर्दै मोक्तान दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहनुभएकी मोक्तानले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ क बाट निर्वाचित हुनुभएको हो । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य मोक्तानले १९ हजार ८ सय ७३ मतसहित विजयी हुनुभएको हो । मोक्तानले नेकपा एमालेका ढकाललाई ३ सय २२ मतले पराजित गर्नुभएको हो । नेकपा एमालेका विष्णु प्रसाद ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गर्नुभयो ।

यसअघि मकवानपुरबाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका ईन्द्रबहादुर बानियाँ र नेकपा एमालेका एकालाल श्रेष्ठ निर्वाचित भइसक्नु भएको छ । यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी जित नजिक हुनुहुन्छ ।