सांकेतिक चित्रः गुगल ।

हेटौंडाः बुधबार दिउँसो मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, सल्लेमा सुमो दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सनाखत भएको छ । मृत्यु हुने ४० वर्षी भारतीय नागरिक सविर आलम रहेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परी आलमको घटनास्थलमै मृत्यु भएको हो ।

भीमफेदी–फाखेल छोटोमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो सल्लेमा बुधबार दिउँसो ३ बजेको समयमा दुर्घटना भएको थियो । सुमोमा चालकसहित १० जना सवार थिए । आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा ३ जना सामान्य घाइते भएका थिए भने ६ जनाको गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरी चौकी खानीखेत र इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले उद्दार गरी गम्भीर चोट लागेका ५ जनालाई काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सुमो चालक बारा जिल्ला महागढीमाई नगरपालिका–२, वरीयारपुरका २८ वर्षीय अजय कुमार साहको प्रहरी निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । सुमोमा सवार भारतीय नागरिकहरु २३ वर्षीय सृष्टि प्रसाद, ५० वर्षीय तुफान आलम, ४० वर्षीय ईनुस गद्दी, ५३ वर्षीय अब्दुल रजाक र पर्सा जिल्लाको बिरगन्ज महानगरपालिका–१९ का ३० वर्षीय सागर बाबु साहको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।