जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ ले परिकल्पना गरेको संघीय गणतन्त्रात्मक नेपालमा दोस्रो पटक संघीय संसद र प्रदेश सभा सदस्यका लागि आज आइतबार देशैभर मतदान हुँदैछ । ७ वटा प्रदेशमा प्रदेश सभा सदस्यसहित प्रतिनिधि सभा सदस्य चयनका लागि आज मतदानको कार्य हुँदैछ । बिहान ७ बजेदेखि मतदानको कार्य सुरु भई दिनको ५ बजेसम्म मतदान केन्द्रमा पुगेका मतदाताले मतदान गर्न पाउनेछन् । ५ वर्षका लागि प्रदेश र संघीय संसदमा आफ्नो प्रतिनिधि चुनेर पठाउने महत्वपूर्ण प्रक्रिया नै मतदान हो । लोकप्रिय मतका आधारमा उम्मेदवारमध्ये एउटा निर्वाचन क्षेत्रबाट एकजना निर्वाचित हुनेछन् ।
२०७२ सालमा जारी भएको संविधानले परिकल्पना गरेको संघीय गणतन्त्रलाई कार्यान्वयन गर्ने गरी २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा भएसँगै दोस्रो कार्यकालका लागि निर्वाचन हुन लागेको हो । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएर जनताको मतको आधारमा प्रतिनिधि सभा गठन भई सरकार निर्माण हुने प्रक्रिया सुरु भएको ७ दशक भए पनि आवधिक निर्वाचन नियमितरुपमा हुन सकेको छैन । राजनीतिक अस्थिरताका कारणले जनताले आफ्नो मताधिकार नियमित प्रयोग गर्न पाएका छैनन् ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भए पनि निर्वाचनको सुनिश्चितता हुन सकेन । राजनीतिक खिचातानी, राजनीतिक दलको स्वार्थकै कारण निर्वाचनलाई अनुकुल र प्रतिकुलतामा व्याख्या गर्दै गर्दा २०५४ सालपछि करिब एक दशक नेपाली नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न पाएनन् । जनमतको सम्मान नभएकै कारण मुलुक अस्थिरताको चरम अवस्थासम्म पुग्यो । मुलुकले, नागरिकले गृहयुद्धको सामना गर्नुपर्यो ।
२०६२/६३ को जनआन्दोलनको बलमा स्थापना भएको गणतन्त्रात्मक मुलुक नेपाल यतिबेला संघीय गणतन्त्रात्मक मुलुक स्थापित भइसकेको छ । राजनीतिक आन्दोलन पूरा भएको र आर्थिक लगायत नेपाली समाजको समग्र विकास गर्ने प्रतिवद्धता जनाएका प्रमुख राजनीतिक दलहरुले २०७४ सालको जनमतको सम्मान गर्न सकेको देखिँदैन । संघीय गणतन्त्र स्थापनापछि दोस्रो कार्यकालका लागि आज मतदान हुँदैछ । यो निर्वाचनलाई पनि दलहरुले आआफ्नो सत्तास्वार्थमा केन्द्रित गर्दा जनतामा सकारात्मक भावना जागृत हुन सकेको छैन । दलहरुको सत्तास्वार्थका कारण निर्वाचनकै औचित्यमाथि प्रश्न उठाउँदै नागरिक मतदानमा सहभागी हुन अनिच्छुक देखिएका छन् ।
तर, दलहरुको सत्तास्वार्थलाई निस्तेज पार्ने गरी जनताले उपलब्धमध्ये राम्रा उम्मेदवारलाई विजयी गराउन आफ्नो मतको सदुपयोेग गर्नुपर्छ । मतदाताले आफ्नो मतको प्रयोग गर्नतर्फ जिम्मेवार नहुनु पनि प्रजातान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउने विषय हुनेछ । तसर्थ महत्वपूर्ण मताधिकारलाई उपलब्ध मध्ये राम्रा उम्मेदवारप्रति समर्पित गरी निर्वाचनको प्रक्रियालाई उपयोगी बनाइदिनुहुन सम्पूर्ण मतदातामा अपील समेत गर्दछौं । आज तपाइँले दान गर्नुहुने एक मतले आगामी ५ वर्षका लागि प्रदेश र संघीय सरकार कस्तो बन्ने भन्ने निश्चित हुनेछ । तसर्थ आफ्नो आगामी ५ वर्षे भाग्य कस्तो बनाउने भनेर आजै दृढ निश्चयी भएर मतदान गरौं ।