नरेन्द्र भण्डारी

राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनस्र्थापनापछि कांग्रेस र बामपन्थी नै एकअर्काका प्रतिस्पर्धी भए । राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र अनुशासित बनाउन नसक्दा पुनस्र्थापित प्रजातन्त्र पटक–पटक जोखिममा रहँदै आएको छ । २०५२ सालबाट तत्कालिन माओवादीले सशस्त्र आन्दोलन सुरु गर्यो । १० वर्षे सशस्त्र आन्दोलनले नेपाली समाजमा केही सकारात्मक छाप छाडे पनि मूलधारको राजनीतिलाई नै सुधारको बाटोमा ल्याउन नसक्दा अन्ततः १७ हजार भन्दा बढीको ज्यान गयो भने अझै कति बेपत्ता छन् । अंगभंग हुनेको वास्तविक तथ्यांक र तिनीहरुको सहज दैनिकीको सुनिश्चितता सरकारले गर्न सकेको छैन ।

हिजो टाउकाको मूल्य तोक्ने र तोकिने दुबै एकअर्काका पूरक छन् । हिजो माओवादी र एमालेसहित केही साना बाम शक्तिहरु मिलेर कम्युनिष्टहरु एक हुने प्रयास नभएको होइन । तर, राज्य सत्ताको लोभ–लाभमा अनेकौं चलखेल हुँदै गर्दा दुईतिहाई नजिकको शक्ति छिन्न भिन्न हुने अवस्थासम्म आइपुग्यो । एक किसिमले संसदीय व्यवस्थामा दुईतिहाई नजिकको बामपन्थी शक्ति छिन्न–भिन्न हुने कल्पना समेत गर्ने छुट नहुनु पर्ने हो । तर, यथार्थमा दुईतिहाई नजिकको बामशक्ति बम पड्काएर फुटाएजस्तो तीन टुक्रा भयो ।

एमाले–माओवादीसहितको बाम एकताको प्रयास, एकताको घोषणा, बाम एकतालाई शक्ति प्रदान गर्ने २०७४ सालको जनमतको सिलसिला एक किसिमले अनपेक्षित जस्तै थियो । दुईतिहाई नजिकको शक्ति टुटफुट भएर तीन टुक्रा भएपछि एकताको आधार, एकताको घोषणापछिको व्यवहार, शक्तिशाली जनमतपछिको व्यवहार यी तीनै चरणका विषयमा सघन समीक्षा जरुरी हुन सक्छ । यस किमिसको समीक्षाले भोलिको दिनलाई कम जोखिमपूर्ण बनाउन सहयोग पुग्नेछ । तर, यतिबेला प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूह सत्तास्वार्थबाट प्रेरित भएर पार्टीलाई तीन टुक्रा बनाउन प्रेरित भएको आज पुष्टि भइसकेको छ ।

२०७४ को जनमतलाई कुन दलले न्याय गर्न सक्यो ? शीर्षदेखि जनतासँग दैनिक कुराकानी हुन सक्ने राजनीतिक नेतृत्वसम्मको तहमा पनि जनमतको सम्मान के कसरी भयो भनेर समीक्षा जरुरी छ । राजनीतिक दलका नेता, कार्यकर्ताले समीक्षा गरे गरेनन् यो तपसीलको कुरा हो । तर, २०७९ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताले ५ वर्षअघिको मतको सदुपयोग गरे, नगरेको समीक्षा गर्नेछन् ।

आज मंसिर १ गते मध्यरातीदेखि मौन अवधि अर्थात निर्वाचनको प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु हुँदैछ । जनताले दल र नेताको कामको समीक्षा गर्दै पछिल्लो दुईसाता दल, उम्मेदवार, नेता, कार्यकर्ताको होहल्ला, सरसल्लाहको मौन अवस्थामा मूल्यांकन गरेर मतदान गर्नेछन् । जनतालाई आम रुपमा सही निर्णय गर्न नसक्ने भनेर भेँडाको संज्ञा पनि दिने गरेका छन् । तर, २०१५ सालदेखि कै निर्वाचनहरुको अध्ययन गर्ने हो भने जनमत कहिल्यै गलत छैन ।

२०१५ सालमा प्रजातन्त्रवादीलाई जनमत प्राप्त भएको थियो । २०४६ पछि प्रजातन्त्र पुनस्र्थापना गर्ने अगुवा शक्तिलाई नै मत प्राप्त भयो । २०६२/६३ को आन्दोलनपश्चात गणतन्त्रवादी, सशस्त्र द्वन्द्वका बेला सास र लास नभेट्दा समेत माओवादीलाई मत दिएकै हो । तर, काम गर्न नसक्दा कांग्रेस, माओवादी हुँदै अन्ततः बाम एकताप्रति आशा गरेर २०७४ मा झण्डै दुईतिहाई मत त्यही जनताले दिएका हुन् ।

आजको युगमा जनतालाई गलत सावित गरेर राजनीति दल र तिनका नेतृत्वको गैरजिम्मेवारीपनाको दोष हट्दैन । आज फेरि जनताले एउटा महत्वपूर्ण समयमा आम नागरिक सही निर्णय गर्न आतुर छन् । जनतामा व्यापक निराशा छ । तर, जनता आफ्नो मत सदुपयोग गर्नुपर्नेतर्फ भने सचेत छन् । मंसिर ४ गते आम नेपालीले आफ्नो विवेकपूर्ण मत प्रकट गर्दै गर्दा मुलुकले एउटा सुन्दर निकास पाउने आशा गर्न सकिन्छ ।

म एउटा पार्टीको कार्यकर्ता भएर विशेषगरी निर्वाचनको प्रचारप्रसारमा जाँदै गर्दा मतदाताले निराशाकाबीच पनि एउटै आशा भनेको आफ्नै मत हो भन्ने स्पष्ट भएर दलका नेता, उम्मेदवार, कार्यकर्ता र समर्थकलाई चुनौति दिइरहेका छन् । मतदाताले सजिकै भन्छन्, ‘के गर्छ तिम्रो पार्टीले ? तिम्रो नेताले ? तिमीले पनि के गर्यौ’ हामीजत्तिको प्रतिवद्ध कार्यकर्ताका लागि यस्ता प्रश्न पेचिलो लाग्छ । मतदाताका यस्ता जायज प्रश्नले हामी सुध्रनुको विकल्प छैन । हामीले हाम्रा नेतालाई नसुधार्न सचेत हुनैपर्छ ।

दल, नेता, कार्यकता, नागरिक र समाज क्रमशः सुधार्दै जाने हो । २०७४ सालको निर्वाचनमा प्राप्त मतको सम्मानमा कमजोरी भएका विषयमा मतदाताले समीक्षा गरेर यस पटकको निर्वाचनमा राजनीतिक दलको सुधारलाई प्रेरित गर्नेगरी मत प्रकट हुनेछ । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले पनि दलहरुलाई सुध्रन समेत गराएकै छ । हामीले आशा गरेका छौं हाम्रो दल र हाम्रा नेताले सुध्रनुपर्ने महसुस गरेका छन् ।

राजनीतिक दलभित्र सुधारको आवश्यकतालाई औँल्याउँदै सुध्रन सक्ने दलको रुपमा नेकपा एमालेलाई नै जनताले चुनेका छन् । बैशाख महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा पनि नेकपा एमालेको मत उत्साहजनक छ । यही बलमा विशेषगरी हाम्रा आदरणीय नेता केपी ओलीले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा असाध्यै आत्मविश्वासपूर्ण अगुवाई गरिरहनुभएको छ ।

ओलीको अभिव्यक्तिप्रति आलोचनात्मक टिप्पणी पनि उत्तिकै भइरहेको पाउँछौं । सशक्त अभिव्यक्ति छ र त टिप्पणी पनि जोडदार भइरहन्छ । हिजो राष्ट्रिय योजना होस् या अन्तर्राष्ट्रिय सम्बन्ध ओलीको नेतृत्व सशक्त रह्यो । छिमेकी भारतसँग लुरुक्क पर्ने नभई जुरुक्क उठेर सार्वभौम सरकारको स्वरुपमा मुलुकलाई खडा गर्न ओली नै सक्षम रहनुभयो । आज श्रद्धेय अध्यक्षको अडानले हामी कार्यकर्तामा उत्साह, जोश र जाँगर बढेर आएको छ ।

नेकपा एमालेको शक्तिलाई नै सावित गर्ने गरी सत्तामा रहेका दलहरु एउटै मोर्चामा उभिएका छन् । सत्तामा बसेर एउटै मोर्चामा उभिँदा पनि आफ्ना योजना भन्दा ओली र ओली नेतृत्वको हिजोको सरकारको आलोचनामा सत्तारुढ दल र तिनका नेताहरु व्यस्त छन् । ओली मुलुकको विकास र समृद्धिको कुरा गरिरहनुहुँदा शेरबहादुर देउवा र प्रचण्ड ओलीलाई गाली गरिरहन्छन् । अब भन्नुस् जनताले कसलाई भरोसा गर्नुपर्छ ?

आज पार्टी एक ढिक्का छ । पार्टीमा केही समस्या होलान् त्यो सुधारका लागि काम गर्नुपर्छ । तर, निर्वाचनको टिकट नपाउँदा पार्टी छाड्ने नेतृत्व तहका नेताबाट कार्यकर्ताले के सिक्ने ? सधैं आफूले मात्रै टिकट पाउनुपर्छ भन्नेहरुबाट परिवर्तनको परिकल्पना कसरी गर्ने ? पार्टी भित्र यस्ता अनेकौं प्रश्न आन्तरिकरुपमा गर्नुपर्ने कि आम सभामा बोल्ने । आजको खुला समाजमा सीमितताका कुरा निरंकुश जस्ता लाग्लान् तर, सीमाहिन स्वतन्त्रता हानिकारक नै हुन्छ ।

आज शीर्ष तहका केही नेताहरुलाई पार्टी अध्यक्षले व्यक्तिगत स्वार्थ या रिसले नभई कम्युनिष्ट पार्टीको सिद्धान्तविपरितका असाध्यै लोकतान्त्रिक चरित्रका कारण केही कडा भएर प्रस्तुत हुन बाध्य हुनुभएको कुरा आम कार्यकर्ताको तहले बुझ्नुपर्छ । यसरी अन्तरवस्तुलाई बुझ्न सक्यौं भने यतिबेला नेकपा एमाले एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको रुपमा स्थापित हुँदैछ । जसलाई बैदेशिक हस्तक्षेप र ५ दलीय गठबन्धनको सतर्क चालबाट पनि बुझ्न सकिन्छ ।

यतिबेला एमालेले आफ्नो अनुकुलमा, भोलि मुलुकको नेतृत्व गर्न आवश्यकताका आधारमा केही दलसँगको तालमेलमा निर्वाचनमा होम्मिएको छ । मंसिर ४ गते मतदाताले मत दान गर्न लाग्दा एमालेलाई जनताको सेवा गर्ने पार्टी सम्झेर मतदान गर्नुपर्छ । एमालेले पनि आफ्ना कमिकमजोरीलाई मसिनोसँग केलाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि हामी कार्यकर्ता तहमा जिम्मेवार भएर लाग्ने छौं । स्वार्थपूर्ण गठबन्धनका विरुद्ध नेकपा एमालेको राष्ट्रवादी अग्रसरतालाई जनताले अनुमोदन गरेर अगाडि बढ्ने हो भने आगामी ५ वर्ष मुलुकले अग्रगामी छलाङ मार्नेछ ।

मकवानपुरको हकमा एमालेले नयाँ अनुहारलाई, अनुभवी अनुहारलाई जनतामाझ उभ्याएको छ । प्रतिवद्ध नेतृत्वले जनताको अपेक्षाअनुसार नै नयाँ अनुहार प्रस्तुत गर्दै गर्दा जनताले न्याय गर्नेमा हामी विश्वस्त छौं । आज हरेक मतदाताले नेकपा एमालेलाई दिने एक मत एक ढिक्का भएर भोलि सरकारको नेतृत्व गर्ने आधार बन्नेछ । मुलुकको सही नीति निर्माणमा एक ढिक्का शक्ति जरुरी छ । ओली नेतृत्वको साढे ३ वर्षको सरकारका बेला नागरिकले सरकारबाट आफ्नो अनुकुलको व्यवहारको अपेक्षा गर्दै आलोचना गर्ने अवसर थियो भने आजको गठबन्धन सरकारसँग कुनै किसिमको अपेक्षा नभएकै कारण जनताले आलोचना गर्नै छाडेका छन् ।

आसन्न निर्वाचन मुलुकको नीति निर्माण गर्ने, कानुन निर्माण गर्ने प्रदेश र संघीय संसदको निर्वाचन हो । आमरुपमा जनताको विकासको पक्षमा उम्मेदवारहरुले अनेकौं वाचा गर्ने गरिए पनि यतिबेला नीतिगत सुधार, समयानुकुल कानुन निर्माण र त्यसको कार्यान्वयनमा शक्तिशाली सरकार चाहिएको छ । त्यसका लागि मतदाताले एउटै विकल्प नेकपा एमाले नै छ । सत्तारुढ दलको गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्ने नै निश्चित छैन भने मन्त्री र विभिन्न निकायमा नियुक्तिको भागबण्डा नमिल्दा जनताको आवश्यकता बुझ्ने अवसरै हुनेछैन । तसर्थ मौन अवधि सुरु हुनु अघि आम मतदातालाई एउटा जिम्मेवार कार्यकर्ताको रुपमा म प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई र समानुपातिकतर्फ पनि नेकपा एमालेलाई नै मतदान गरेर आगामी ५ वर्षका लागि एक ढिक्का भएको नेकपा एमालेले एकमनले जनताको सेवा गर्ने अवसर दिनुहुनेछ । प्रजातन्त्र स्थापनापछिको ६० वर्षको अन्यौलतालाई चिर्दै आगामी ५ वर्षमा नेकपा एमालेले नेपाली समाजको एउटा सुन्दर भविष्यको मार्ग तय गर्नेछ ।

(भण्डारी युवा संघ नेपालको बागमती प्रदेश कमिटीको कोषाध्यक्ष हुनुहुन्छ ।)