हेटौंडाः आरके टेक सोलुसन्सले नेपाल दूरसञ्चार प्राधिकरण र टेकपाना मिडियासँगको सहकार्यमा आयोजित निर्वाचन र मिथ्या सूचनाको चुनौति विषयक अन्तरक्रियामा सहभागीले निर्वाचनमा भ्रामक सूचना फैलन दिन नहुने उल्लेख गरेका छन् । गलत सूचनाले जनतामा भ्रम सिर्जना गर्न सक्ने भएकोले सम्पूर्ण पत्रकार, व्यवसायी, जनप्रतिनिधि, उम्मेदवार, विद्यार्थीहरु सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।
सोमबार हेटौंडामा आयोजित अन्तरक्रियामा सहभागीले निर्वाचनको समयमा जनतामा भ्रम सिर्जना गर्ने सूचना सम्प्रेषण हुन नहुने बताएका छन् । अन्तरक्रियामा विज्ञको रुपमा सहभागी दीपक अधिकारीले निर्वाचनमा गलत र मिथ्या सूचनाले जनता भ्रममा परिरहेको र भ्रममा नपर्न मिडिया, पत्रपत्रिकामा पत्रकारले स्वतन्त्र, निष्पक्ष समाचार मात्र प्रस्तुत गर्नुपर्ने बताउनुभयो । अधिकारीले मतदातालाई प्रभावित पार्न निर्वाचनका बेला गलत र भ्रामक सूचना सम्प्रेषण हुने जोखिम रहने बताउनुभयो ।
सार्वजनिक वृत्तमा रहेका व्यक्तिलाई जवाफदेही बनाउने र तथ्य जाँच गरेर मात्रै सूचना सम्प्रेषण गर्ने अवस्था रह्यो भने मिथ्या सूचना सम्प्रेषण हुने जोखिमबाट बच्न सकिने उहाँको भनाइ थियो । सञ्चार माध्यमका पार्टीगत पत्रकार, राजनीतिज्ञहरुले भ्रम फैलाइरहेको पनि अधिकारीले जानकारी दिनुभयो । भ्रामक सूचना र समाचारहरु सम्प्रेषण गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने काम भइरहेको उहाँले बताउनुभयो ।
अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मिथ्या सूचनाले निर्वाचनको समयमा जोखिम बढाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सूचना नै शक्तिको रुपमा रहेको छ । प्रविधिले सूचनाको आदानप्रदानलाई सहज मात्रै नबनाई चुनौतीको विषय पनि बनाएको छ ।” सही सूचना सम्प्रेषण गर्नु नै सञ्चार माध्यम र सञ्चारकर्मीको कर्तव्य भएको उहाँले बताउनुभयो । अन्तरक्रियामा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलको पनि आतिथ्य रहेको थियो ।