प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ।

हेटौंडाः आसन्न निर्वाचनमा प्रदेश सभातर्फ मकवानपुर क्षेत्र १ को (ख) मा नेकपा एमालेबाट उम्मेदवार एकालाल श्रेष्ठले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवार श्रेष्ठले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

श्रेष्ठले हेटौंडामा उपयुक्त स्थानको खोजी गरी विमान स्थल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ । यस्तै हेटौंडा–काठमाडौं सुरुङमार्ग राज्यको लगानीमा निर्माण गर्न पहल गर्ने, हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाइ बाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गर्न पहल, कान्तिलोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गरी सञ्चालनमा ल्याइने, नगर भित्रका सबैको घरघरमा धाराको व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

यस्तै बन्द रहेका उद्योग कलकारखानाहरु सञ्चालन गरी हेटौंडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउन आवश्यक पुर्वाधार तयार गर्ने, टोल–टोलमा खेलमैदान निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । श्रेष्ठले अघिल्लो प्रदेश सभाले निर्माण गर्न बाँकी रहेका नीति नियम र ऐन कानून अविलम्ब निर्माण गर्ने, प्रतिबद्धता पत्र कार्यान्वयनको अवस्था र सोबाट प्राप्त उपलब्धीहरुको सम्बन्धमा वार्षिक समिक्षा गर्ने संकल्प लिनुभएको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, पार्टी प्रदेश सदस्य भोजराज ढकाल लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।