तस्बिरः गुगल ।

हेटौंडाः जिल्लास्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता हुने भएको हो ।

बिहीबार हुने उद्घाटन खेलमा नवोदय शिशु सदन र कमाने एकेडमी भिड्नेछन् । खेल बिहान ८ बजे हुुने जनाइएको छ । यस्तै, बिहीबार नै दिउँसो १२ बजे जीएस निकेतन र सिद्धार्थ मावि भिड्नेछन् ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार पहिलो खेलमा आधुनिक राष्ट्रिय मावि र सिद्धार्थ मावि भिड्नेछन् भने दोस्रो खेलमा सोलिड्यारिटी र सिद्धार्थ मावि भिडनेछन् । यस्तै, शनिबार हुने पहिलो खेलमा नवोदय र भूटनदेवी मावि तथा दोस्रो खेलमा जीएस निकेतन र बालजागृृति बोर्डिङ स्कूल भिड्नेछन् ।।

आइतबार तुलसीमेहर मेमोरियल र ज्ञानोदय बालबाटिकाबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा हेटौंडा एकेडेमी र सिद्धार्थ शिशु सदन भिड्नेछन् । सोमबारको पहिलो खेल बालजागृति र सिद्धार्थ माविबीच हुनेछ भने दोस्रो खेलमा कमाने एकेडेमी र भूटनदेवी मावि भिड्नेछन् । यस्तै, मंगलबार तुलसीमेहर मेमोरियल र सोलिड्यारिटी माविबीच पहिलो खेल हुनेछ भने आधुनिक मावि र हेटौंडा एकेडेमीबीच दोस्रो खेल हुनेछ ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको सेमिफाइनलका खेलहरु बुधबार सञ्चालन हुनेछन् । बुधबार हुने पहिलो सेमिफाइलनमा ग्रुप ‘ए’ र गु्रप ‘बी’का विजेता र दोस्रो सेमिफाइनलमा ग्रुप ‘सी’ र गु्रप ‘डी’का विजेता भिड्नेछन् । बिहीबार प्रतियोगिता फाइनल खेल सञ्चालन हुनेछ । उपाधिका लागि पहिलो सेमिफाइन खेलका विजेता र दोस्रो सेमिफाइनल खेलका विजेता भिड्नेछन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २० हजार रुपैयाासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।