हेटौंडाः नेपाली काङग्रेसकी सहमहामन्त्री तथा आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले अहिले विपक्षी दल तथा उम्मेदवारहरु हारको मानसिकताले तड्पिरहेका बताउनुभएको छ । बुधबार हेटौंडा–४ स्थित पशुपति सभा हलमा आयोजित गठबन्धनको चुनावी सभा तथा कार्यकर्ता भेलालाई सम्बोधन गनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विपक्षीहरु दलका उम्मेदवारहरु अहिले अनेक भ्रम छर्दै गठबन्धनका उम्मेदवारहरु हराउन लागिरहेको भन्दै उहाँले कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले आफ्नो जित सुनिश्चित भइसकेको र अब मंसिर ४ मात्र कुर्न बाँकी रहेको दावी गर्नुभयो । उहाँले आफु विपक्षी उम्मेदवार भन्दा २० हजार मतले जित्ने दाबी गर्नुभयो । उहाँले आफु अहिले मकवानपुरे जनतासँग काम गर्न चाहेर प्रत्यक्षतर्फको चुनाव लड्न थालेको बताउनुभयो । उहाँले विपक्षीलाई हराउनु भन्दा पनि आफु गठबन्धनको तर्फबाट संविधान रक्षाका लागि उम्मेदवार बनेको बताउनुभयो ।
संविधान निर्माणमा पनि भाग लिएको बताउनुहुँदै त्यसमा महिला अधिकारका कुराहरु, बालमैत्री, दलितमैत्री कुराहरु जोड्नलाई पहल गरेको डीनाले बताउनुभयो । उहाँले आफु प्रतिनिधि सभामा निर्वाचित भएमा पहिलो प्राथमिकता मकवानपुरमा बन्द रहेका उद्योगहरु सञ्चालन गरी हजारौँ युवालाई रोजगारी दिनु रहेको बताउनुभयो । अहिले स्थानीय तहमा पनि गठबन्धन सरकार रहेको बताउनुहुँदै उहाँले प्रदेश र संघीय सरकार पनि गठबन्धन दलकै हुनुपर्ने बताउनुभयो । तीनै तहका सरकारमा गठबन्धन सरकार भए मात्र मुलुकमा परिवर्तन आउने उहाँले बताउनुभयो ।











