हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार गुञ्जन बहादुर न्यौपानेले आफ्नो चुनावी संकल्प सार्वजनिक गर्नुभएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्नुहुँदै न्यौपानेले आफ्नो ७ चुनावी संकल्प सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवार न्यौपानेले सर्वसुलभ सम्पन्न हेटौंडा अस्पताल स्तरोन्नतीमा पहिलो अठोट लिनुभएको छ । न्यौपानेले हेटौंडा–४ स्थित हुप्रचौरमा बन्ने व्यवसायिक भवनसहितको १३ तल्ले भ्युटावर निर्माण गर्न खुला चौर मास्नुको सट्टा हेटौंडा अस्पतालको स्तरोन्नती गर्ने संकल्प गर्नुभएको छ । हेटौंडा अस्पतालबाट मकवानपुरे जनताले सर्वशुलभ सेवा पाउनु पर्ने उहाँको भनाई छ । यस्तै, न्यौपानेले प्राविधिक समेतका विश्वविद्यालय निःशुल्क प्लस २ सम्मका लागि नीति निर्माणमा जोड दिने, हेटौंडाका औद्योगिक क्षेत्रमा मकवानपुरको लगानी गरी जिल्लामा बेरोजगारी हटाउने संकल्प गर्नुभएको छ । उहाँले मकवानपुरमा बन्द रहेका सबै उद्योगहरु विज्ञहरुसँग छलफल गरेर चलायमान बनाउने योजना रहेको बताउनुभयो । यस्तै उहाँले हेटौंडालाई खुला क्षेत्रसहितको स्मार्ट र प्रदुषण नियन्त्रित सहरको संकल्प गर्नुभएको छ । तामाङ भाषासहित सबै जातिको भाषा अध्ययन प्रतिष्ठान बनाउने, उद्यमशिलता विकास बैंक स्थापना र कम व्याजदर तथा सहज ऋण लागनीको व्यवस्था, सम्पुर्ण धार्मिक क्षेत्रको संरक्षणको संकल्प गर्नुभएको छ ।
उम्मेदवार न्यौपानेले संघीयता खारेजी पनि आफ्नो संकल्प पत्रमा उल्लेख गर्नुभएको छ । अहिले प्रदेश सरकार अत्यन्त खर्चिलो रहेको तर, समयमा किसानलाई मल, बीउ उपलब्ध गराउन नसक्ने र देशको अर्थतन्त्र जोगाउन संघीयता खारेज हुनुपर्ने उहाँको भनाई छ । उहाँले एमाले, काँग्रेस र माओवादीका उम्मेवारहरुले यस क्षेत्रमा पटक–पटक निर्वाचनमा निर्वाचित भएपनि काम नगरेको र त्यसको दोष जनताले सबै दल तथा उम्मेदवारलाई नदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मैले राजनितिलाई पेशा नभई सेवाको रुपमा लिएको छु । बरु नष्ट हुने तर भ्रष्ट नहुने संकल्पका साथ मैदानमा छु । म दल, सम्प्रदाय, धर्म, समाजको घेराभन्दा माथि उठेर मकवानपुरवासीको हित, उन्नती र समृद्धिका लागि प्रदेशसभा सदस्यमा उम्मेदवार बनेको छु ।” उहाँले आफु प्रदेशसभा सदस्य निर्वाचनमा फेरी नदोहोरिने र नयाँ पुस्तालाई अवसर दिने बताउनुभयो ।