हेटौंडाः देशभर पछिल्लो समय महामारीको रुपमा लिन थालेको डेंगु प्रकोपको संक्रमण अहिले कम हुदैंगएको छ । मकवानपुर जिल्लामा पनि डेंगु संक्रमण घट्दै गएको छ । जिल्लामा दुई सयको हारहारीमा संक्रमण हुने गरेकोमा अहिले डेंगु संक्रमितको संख्या घट्दै गएको हो ।
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको बकैया गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ५ हजार २ सय ६८ जना पुगेको छ । डेंगु संक्रमण पुष्टि हुने दर घट्दै गएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक करिब ७० जनाले डेंगु परीक्षण गराउन आउने गरेको उहाँले बताउनुभयो ।
अबको १० देखि १५ दिनमा डेंगु संक्रमण हुनेको संख्या न्यून हुने सक्ने उहाँको भनाइ छ । जाडो मौसम सुरु भएसँगै लामखुट्टे नदेखिने भएकाले अबको १० देखि १५ दिनमा डेंगु संक्रमण हुनेको संख्या न्यून हुने सक्ने मेसु डा. सापकोटाले बताउनुभयो । अहिले बालबालिकालाई डेंगु संक्रमण नदेखिएको पनि उहाँले बताउनुभयो । हेटौंडा अस्पतालमा डेंगु परीक्षण गर्न आउने नागरिकलाई सहजरुपमा सेवा दिइएको बताउनुहुँदै उहाँले अहिले अस्पतालसँग डेंगु परीक्षण गर्ने किट पर्याप्त भएको जानकारी दिनुभयो ।
लामखुट्टेको टोकाइबाट संक्रमण हुने भएकोले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टरहरुको सुझाव छ । डेंगु एडिस जातिको एजिप्टाई र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने रोग हो । यो भाइरसको संक्रमण हँुदा ज्वरो आउने, शरीरमा डाबर देखापर्ने, बान्ता हुने, जिउ सुन्निने र टाउको तथा पूरै जीउ दुख्ने गर्छ ।