जावा क्लासिक मोडलको मोटरसाइकल ।

हेटौंडाः विश्वव्यापी ख्याती कमाएको संसारकै पुरानो कम्पनि जावा कम्पनिका मोटरसाइकलहरु हेटौंडा बजारमा पनि विक्री सुरु भएको छ । सन् १९२९ देखि सञ्चालनमा रहेको जावा कम्पनिका मोटरसाइकल हेटौंडामा यति मोटर्सले ल्याएको हो । हेटौंडा–४, भैरवरोडमा यति मोटर्सले जावा कम्पनिका मोटरसाइकलको शोरुम, पार्टस् र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

चेक कम्पनी जावाले भारतमा उत्पादन गरेको ३ वटा मोडलका मोटरसाइकल यतिले हेटौंडामा विक्री सुरु गरेको छ । जावा क्लासिकल, जावा ४२ र पेराक मोडलका मोटरसाईकल हेटौंडामा ल्याइएको यति मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले जानकारी दिनुभएको छ । नेपालमा १५ वटा शोरुम रहेको जावा मोटरसाइकल पारखीको रोजाईमा पर्ने गरेकोले पार्टस् र सर्भिस सेन्टर समेत राखेर शोरुम सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

जावा कम्पनिका मोटरसाइकल नेपालमा भने अग्नि मोटर्सले ल्याएको हो । जावा कम्पनिको मोटरसाइकल नेपालमा विक्री सुरु भएको ३ वर्ष मात्रै भएको छ । ३०० सीसीदेखि ३५० सीसीका मोटरसाइकल हेटौंडामा विक्री गर्न सुरु गरिएको छ ।