निर्वाचनमा मिडियाको भुमिकाबारे अभिमुखिकरण कार्यक्रम ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे अभिमुखिकरण बिहीबार हेटौंडामा भएको छ । बागमती प्रदेश निर्वाचन आयोगले मकवानपुरका पत्रकारसँग निर्वाचनमा मिडियाको भुमिकाबारे अभिमुखिकरण गरेको हो ।

बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे जानकारी गराउनुभयो । उहाँले संचार माध्यमहरुले समाचार प्रकाशन वा प्रसारण गर्दा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । कुनै स्वार्थका आधारमा संचार माध्यमले मतदाता प्रभावित पार्ने खालको भ्रामक सूचना प्रकाशन र प्रसारण गर्न नहुने उहाँले बताउनुभयो । संचार माध्यमले निष्पक्ष ढंगबाट समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचन गराउने काम निर्वाचन आयोगको मात्र भनी सोच्न नहुने उहाँको भनाई छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले मकवानपुरमा निर्वाचन निष्पक्ष र भयरहित ढङ्गबाट सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मकवानपुरमा अहिलेसम्म कुनै राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लङ्घन भयो भनी उजुरी नआएको बताउनुभयो । मतदानका लागि चल्न पाउने सवारी साधनको हकमा केही दिनमै निर्णय गरिने उहाँले बताउनुभयो ।

मकवानपुरमा १ सय ६७ मतदान स्थल र ३ सय ६४ मतदान केन्द्र छन् । जसमा १९ वटा मतदान केन्द्र अति संवेदनशिल र ६० वटा मतदान केन्द्र संवेदशिल छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, निर्वाचन अधिकृत मुकुन्द हरि पौडेल, आचारसंहिता अनुगमन अधिकृत रमेश अर्याल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरिक्षक बामदेव गौतम र सशस्त्र प्रहरी उपरिक्षक नेत्र बहादुर कार्कीको उपस्थिति रहेको थियो ।