हेटौंडाः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब १८ दिन बाँकी छ । मकवानपुरमा निर्वाचनका लागि निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले तीव्र तयारी गरिरहेको छ ।
आगामी निर्वाचनका लागि अहिले मकवानपुरमा मतदान केन्द्रमा खटिने कर्मचारी नियुक्त गर्ने तयारी भइरहेको छ । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ३ सय ६४ मतदान केन्द्र रहेको छ । ३ सय ६४ मतदान केन्द्रमा करिब ३ हजार कर्मचारी खटिने बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । जिल्लाका मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरु कार्तिक २३ गते बुधबारसम्ममा नियुक्त गरिने उहाँले बताउनुभयो । मंगलबार मकवानपुरको बागमती गाउँपालिका र बकैया गाउँपालिकास्थित मतदान केन्द्र र सुरक्षा व्यवस्थाबारे अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेव गौतमसहितको टोलीले अनुगमन गर्नुभएको हो ।
निर्वाचनका लागि मकवानपुरमा अहिले समानुपातिकतर्फका मतपत्र आइसकेको प्रमुख पोखरेलले बताउनुभयो । मकवानपुरमा ३ लाख ३२ हजार समानुपातिकतर्फका मतपत्र आएको छ । मकवानपुर क्षेत्र १ का लागि १ लाख ६६ हजार र क्षेत्र २ का लागि १ लाख ६६ हजार मतपत्र आएको हो । यस पटकको निर्वाचनमा ४ प्रकारका मतपत्र आएको उहाँले बताउनुभयो । अब प्रत्यक्षतर्फका मतपत्र र मेडिकल सामग्रीहरु आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
निर्वाचनका लागि उम्मेदवारहरुले अहिले चुनावी अभियानलाई तीव्र पारिरहेकोे छ । अहिले राजतिनितिक दलहरुले आ–आफ्नो घोषणापत्र पनि सार्वजनिक गरिरहेको छ । आगामी निर्वाचनका लागि मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा १० जनाको उम्मेदवार रहेका छन् । प्रदेश सभातर्फ क्षेत्र १ को (क) मा १० जना र (ख) मा १५ जना उम्मेदवार रहेका छन् । क्षेत्र २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार रहेका छन् ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ६९ मतदान केन्द्र र क्षेत्र नम्बर २ मा १ सय ९२ मतदान केन्द्र रहेको छ । मकवानपुरमा अहिले ३ लाख ७ सय ३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधितर्फ मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ जना र मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ५ सय ७८ मतदाता रहेका छन् । प्रदेश क्षेत्रतर्फ क्षेत्र १ को (क) मा ७७ हजार ९ सय ८९ जना र (ख) मा ७२ हजार १ सय ६६ जना मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र २ को (ख) मा ६७ हजार ४ सय ६९ जना मतदाता रहेका छन् । जिल्लामा ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
प्रतिनिधितर्फ मकवानपुर क्षेत्र १ मा बागमती गाउँपालिका, बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका वडा क्रमशः २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८, मकवानपुरगढी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा पर्दछन् । यस्तै मकवानपुर क्षेत्र २ मा इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९, मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा पर्दछन् ।
मकवानपुरमा अहिले मतदाता शिक्षा सञ्चालनका लागि तयारी तीव्र भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा सञ्चालनका लागि कार्तिक ६ गते आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा बैठक बसेको थियो । बैठकले स्थानीय तहहरुले मतदाताको घरघरमा मतदाता शिक्षा प्रदान गर्न निर्देशन दिएको थियो । जसमा निर्वाचन आयोग र निर्वाचन अधिकृत कार्यालयले सहजीकरण गर्नेछ । मतदाता शिक्षा मतदान दिनभन्दा १५ दिन अगाडि गर्नुपर्ने जनाएको छ । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको थिएन ।
आगामी चुनावका लागि दल तथा उम्मेदवारहरुले बिहिबारदेखि चुनावी प्रचारप्रसारका कार्यक्रमहरु गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरले मंसिर १ गतेसम्ममा चुनावी प्रचारप्रसार गर्ने पाउनेछन् । कार्यक्रम गर्दा निर्वाचन आचारसंहिता भने पालना गर्नुपर्नेछ । मकवानपुरमा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना गरे–नगरेबारे जिल्लास्तरीय निर्वाचन अनुगमन टोलीले अनुगमन गर्नेछ । मकवापनुरमा मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन अनुगमन टोली बनाइएको छ । जसमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसमेत रहने छ । उम्मेदवारहरुले निर्वाचनको समयमा खर्च भएको विवरण ३० दिनभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने जनाइएको छ ।