हेटौंडाः मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म २ हजार ८ सय जना पुरुष र २ हजार २ सय ४५ जना महिला गरी ५ हजार ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हेटौंडामा मात्रै हालसम्म ४ हजार जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
हेटौंडामा २ हजार २ सय जना पुरुष र एक हजार ७ सय ५५ जना महिला गरी ३ हजार ९ सय ५५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई दिनदेखि मकवानपुर जिल्लामा डेंगु संक्रमणको संख्या घट्दो रहेको तथ्याङ्कले देखाउँछ । आइतबार १३ जनामा डेंगु संक्रमण देखिएको थियो भने सोमबार जम्मा ८ जनामा डेंगु संक्रमण देखिएको छ ।
सोमबार संक्रमण पुष्टि भएका आठै जना हेटौंडा उपमहानगरपालिका क्षेत्रको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हेटौंडासँगै मनहरी गाउँपालिकामा पनि डेंगु संक्रमण संख्या बढेको छ । मकवानपुरमा सबैभन्दा धेरै डेंगु देखिएको स्थानीय तहमध्ये मनहरी गाउँपालिका दोस्रो स्थानमा रहेको छ । मनहरी गाउँपालिकामा ७ सय २३ जनामा डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।