मामाघर नेपाललाई रकम हस्तान्तरण गर्दै ।

हेटौंडाः अनविज्ञ ब्यान्ड हेटौंडाले मामाघर नेपाल मकवानपुरलाई बिहानको खानासहित ३० हजार रुपैयाँ सहयोग गरेको छ । मामाघर नेपाल मकवानपुर सहयोगार्थ देउसी भैलो कार्यक्रमबाट संकलन भएका रकम अनविज्ञ ब्यान्डको टोलीले सोमबार मामाघर नेपालको कार्यालयमा नै पुगेर सहयोग गरेको हो ।

अनविज्ञ ब्यान्ड मकवानपुरका म्यानेजर तथा कार्यक्रम संयोजक संग्राम बल लामाले देउसी भैलोबाट एक लाख ६१ हजार रुपैयाँ रकम संकलन भएको जानकारी दिनुभयो । देउसी भैलो खेल्ने क्रममा खर्च भएका रकम कटौती गरेर बिहानीको भोजनसहित ३० हजार रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो । युवाहरुले समाज परिवर्तनसँगै आश्रित भान्जाहरुको उज्जवल भविष्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोगार्थ देउसी भैलो कार्यक्रम गरिएको उहाँको भनाइ छ । जसलाई निरन्तरता दिइने बताएको छ ।

हेटौंडाको स्वर्गलोक पथ, संगमचोक, चौकीटोल, कमाने, क्याम्पाडाँडा लगायत विभिन्न ठाउँमा देउसी भैलो खेलिएको थियो । मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष ईश्वर सिलवालले हालसम्म २ सय २ जना बालकहरुको उद्दार गरिएको बताउनुभयो । यस्तै एक सय ४० जना बालकको परिवारिक पुनर्मिलन गराइसकेको छ । प्रायः भीमफेदी, मनहरी र बकैयाँ गाउँपालिकाका आमाबाबु विहीन बालकहरु आउने गरेको उहाँले जानकारी दिनुभयो । आमाबाबु नै दोस्रो बिवाह गरेर जाँदा बालबालिकाको विचलित हुने अवस्था बढ्दा बालबालिका सडकमा आउने स्थिति सिर्जना भएको उहाँको भनाइ छ । हाल मामाघरमा २० जना भान्जाहरु आश्रित छन् ।