हेटौंडाः उच्च अदालत बार एसोसिएसनका सचिव तथा लेखक अरुण खतिवडाको ज्वाला (नाटक संग्रह)—२०७९ विमोचन हुँदैछ । आइतबार एक समारोहबीच श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालको आयोजनामा खतिवडाको दोस्रो कृति विमोचन हुने भएको हो ।

हेटौंडा—१८, हर्नामाडी निवासी खतिवडाले १९ वर्षकै उमेरमा उक्त कृतिको नाटक मञ्चन गर्नु भइसकेको छ । २०३७÷२०३८ मा मकवानपुरको छतिवन, हर्नामाडी र हटियालगायतका स्थानमा नाटक मञ्चन गरिएको हो । खतिवडाको पन्चप स्मृति संग्रह—२०७६ पछि दोस्रो कृतिको रुपमा ज्वाला नाटक संग्रह—२०७९ विमोचन गर्न लागिएको बताइएको छ ।

नाटकबाट तत्कालीन समाजमा हुने शोषणको अवस्था, गरिबी, नेपाली समाजको विकृति, जनचेतना कसरी जगाउने र उन्मुक्ति कसरी प्राप्त गर्ने भन्ने विषयमा पाठकहरुले जानकारी लिन सकिने नाटककार खतिवडाले बताउनुभयो । करिब ४० वर्षदेखि कलम चलाउनुभएका खतिवडाले मुख्यरुपमा गद्य विधामा कलम चलाउनुहुन्छ । यस्तै नाटक, कथा, कविता पनि लेख्दै आउनुभएको छ ।

डीआर पोखरेलको अभिभावकत्वमा हुने कार्यक्रममा टिप्पणीकार घनश्याम घिमिरे र शान्तिप्रिय वन्दनाले टिप्पणी गर्नुहुनेछ । साहित्य संगम मकवानपुरको सभाहलमा विमोचन समारोह हुने श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालले जनाएको छ ।