तस्बीरः गुगल ।

हेटौंडाः चाडपर्व नजिकिएसँगै बजारमा अन्य सामानसँगै विभिन्न निर्माण सामग्रीको पनि मूल्य बढ्न थालेको छ । वर्षेनि घर निर्माणका सामग्रीको पनि मूल्य वृद्धि हुने गोदावरी आइरन स्टोर प्रालिका म्यानेजर सतिश अधिकारीको भनाइ छ ।

बजारमा अहिले भएको मूल्यभन्दा १० देखि १५ प्रतिशत मूल्य बढ्ने उहाँ बताउनु हुन्छ । अहिले बजारमा शिवम सिमेन्टको मूल्य प्रतिबोरा ७ सय १० रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सिमेन्टमा ८० रुपैयाँले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष शिवम सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ३० रुपैयाँ रहेको थियो । सिमेन्टमा एक वर्ष १२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, रिद्वीसिद्वी सिमेन्टको मूल्य हाल प्रतिबोरा ७ सय रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस सिमेन्टको मूल्य प्रतिबोरा ६ सय २० रुपैयाँ रहेको थियो । यस सिमेन्टमा पनि ८० रुपैयाँले वृद्धि भएको देखिन्छ । शिवम सिमेन्ट र रिद्वीसिद्वी सिमेन्टको मूल्य वृद्धिदर उस्तै रहेको अधिकारीको भनाइ छ । बजारमा बिक्री भइरहेको सर्वाेत्तम सिमेन्टको मूल्य अहिले प्रतिबोरा ६ सय ६० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ६ सय रुपैयाँ रहेको मूल्यमा अहिले ६० रुपैयाँले बढेको छ ।

यस्तै, बजारमा घर निर्माणका लागि प्रयोग गरिने इट्टाको मूल्य प्रतिगोटा १३ रुपैयाँ ५० पैसा रहेको छ । जुन मूल्य अघिल्लो वर्षको तुलनामा साढे २ रुपैयाँले बढेको छ । घर निर्मामा प्रयोग गरिने रडको मूल्य पनि वृद्धि भएको छ । अघिल्लो वर्ष ९० रुपैयाँ प्रतिकेजी रहेको रडको मूल्य अहिले १ सय ६ रुपैयाँ प्रतिकेजी रहेको छ । अघिल्लो वर्षको तुलनामा फलामे रडको मूल्य १६ रुपैयाँले वृद्धि भएको छ । केहि समयअघि रडको मूल्य वृद्धि भएर १ सय २५ रुपैयाँ पुगेको थियो । जसले गर्दा व्यवसायीहरु आन्दोलनमा समेत उत्रिएका थिए ।

जस्तापाताको मूल्य पनि प्रतिबण्डल २५ प्रतिशतले वृद्धि भएको छ । व्यवसायमा पहिलेको भन्दा डेढ गुणा लगानी गर्नुपरेको र व्यवसायबाट फाइदा बराबरमात्र हुने गरेको अधिकारी बताउनु हुन्छ । सामानहरुमा मूल्य वृद्धि हुँदा धेरै हुने र न्यून दरमा मूल्य घट्ने गरेको उहाँको भनाइ रहेको छ ।