हेटौंडाः हेटौंडामा जारी ८“ए” साइड खुला फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार बिहान ४ खेल सम्पन्न भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहिबार बिहान ४ खेल सम्पन्न भएको आयोजक जन प्रवाह क्लबका अध्यक्ष हरी कुँवरले जानकारी दिनुभयो ।

बिहीबार बिहान भएको पहिलो खेलमा पिप्ले भेट्रान्सलाई रुद्रेश्वर युवा क्लबले ट्राइब्रेकरमा २–१ गोलले हराएको छ । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच रुद्रेश्वरका गोलरक्षक सुजन लामा घोषित भए । यस्तै, बिहान भएको दोस्रो खेलमा भुुटनदेवी युवा क्लबले भुटनदेवी युथ क्लबलार्ई ३–० गोलले हराएको छ । खेलको म्यान अफ द म्याच भुटनदेवी युवा क्लबका अनिष महर्जन घोषित भए ।

यस्तै तेस्रो खेलमा सुपिङ एफसीले एफसी चौघडालाई ट्राइब्रेकरमा २–० गोेलले हराएको छ । निर्धारित समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धेकेलिएको थियो । खेलको म्यान अफ द म्याच चौघडाका गोलरक्षक निखिल माझी घोषित भए । यस्तै चौंथो खेलमा एफसी पालुङलाई एफसी धापले ट्राइब्रेकरमा ३–१ गोलले हराएको छ । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच एफसी धापका गोलरक्षक सविन लामा घोषित भए ।

यस्तै, आजै दिउँसो पदमपोेखरी युनाइटेड क्लब र ओजेसी कमाने, एफसी हरियाली र एफसी नागस्वती र एफसी गड्यौली चितवन नवजागृती क्लबबिच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणमा भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।