सांकेतिक तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको हेटौंडा मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । बुधबार अनुगमन टोलीले अस्पतालको शल्यक्रिया कक्ष, फार्मेसी र ल्याबमा ताला बन्दी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

अस्पतालमा प्रमुख डाक्टर विना सहायक डाक्टरले शल्यक्रिया सञ्चालन गरेको पाइएकोले उक्त सेवा बन्द गरिएको हो । त्यस्तै अस्पतालले अनुमति बिना फार्मेसी सञ्चालन गरेको र दक्ष जनशक्ती विना ल्याब संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले ताला बन्दी गरेको हो । प्रशासनले अस्पताललाई सम्पुर्ण कागजात पेश गर्न निर्देशन दिएको छ । अस्पतालमा मापदण्ड अनुसार कर्मचारी चिकित्सक नभेटिएको, आवश्यक कागजात नभेटिएकोले सम्पुर्ण व्यवस्थापन गर्न समेत प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा अरु सेवा भने सञ्चालन नै रहेको छ ।